Listen LIVE

बाँकेमा खाद्य व्यवस्था कम्पनीद्वारा धान खरिद शुरु

नेपालगञ्ज : खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको नेपालगञ्जस्थित कार्यालयलले बाँकेमा आइतबारदेखि किसानको धान खरिद शुरु गरेको छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका प्रमुख रामसरण लामिछानेले खाद्य व्यवस्था कम्पनीको कार्यालयमा गोदाम खाली नहुँदा नेशनल ट्रेडिङको कार्यालयबाट धान खरिद सुरु गरिएको बताए । खरिद गरिएको धानलाई हालका लागि नेशनल ट्रेडिङको गोदाममा राखिनेछ ।  

बाँकेमा यस वर्ष २० हजार क्विन्टल धान खरिद गर्ने कोटा केन्द्रबाट प्राप्त भएकाले सोही बमोजिम कोटा रहुन्जेलसम्म धान खरिद गरिने उनले जानकारी दिए ।

प्रमुख लामिछानेले एक दिनमा करिब १० देखि १२ जना किसानको ५०० क्विन्टल धान खरिद गरिने लक्ष्य निर्धारित गरिएको जनाउँदै एकजना किसानबाट ४० क्विन्टल धान खरिद गरिने बताए ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगञ्जले यसअघि नै एक सूचना प्रकाशित गरेर किसानहरुले धान बिक्री गर्न आउँदा पानीले नभिजेको, सफा, केलाई सुकाई फ्रेस रहेको एकै किसिमको धान ल्याउनुपर्ने, धान ल्याउँदा सम्बन्धित वडा कार्यालयको सिफारिस पत्र अनिवार्य पेश गर्नुपर्ने, धानको भुक्तानी बैंक खातामा गर्नुपर्ने भएकाले किसानको बैंक खाता प्रमाणित हुने चेकको प्रतिलिपि ल्याउनुपर्ने र आफ्नो पालो आएमा मात्रै विक्री गर्नुपर्ने जानकारी गराएको थियो ।

यस वर्ष सरकारले मोटा धान प्रतिक्विन्टल तीन हजार ४६३ रुपैयाँ ८१ पैसा र मध्यम धान प्रतिक्विन्टल तीन हजार ६२८ रुपैयाँ ३३ पैसामा खरिद गर्ने गरि मूल्य तोकेको छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका प्रमुख लामिछानेले मोटा धान १५ हजार क्विन्टल र मध्यम धान पाँच हजार क्विन्टल खरिद गर्ने गरी कोटा निर्धारण भएर आएकाले सोही बमोजिम खरिद गरिने बताए ।

उनका अनुसार गत वर्ष नेपालगन्जमा मध्यम धान २५ हजार क्विन्टल र मोटा धान सात हजार क्विन्टल गरेर ३२ हजार क्विन्टल धान खरिद गरिएको थियो ।

तर यस वर्ष केन्द्रबाट कोटा निर्धारण गरेर पठाउन कम्पनीले ढिलाइ गरेकाले धान खरिदमा समेत ढिलाइ हुँदा किसानले बजारमा व्यापारीलाई बाध्य भएर कम मूल्यमा धान बिक्री गरेको गुनासो गरेका छन् ।

प्रतिक्रिया