नेपालगञ्ज : कोहलपुर नगरपालिकाको ‘मनसुन पूर्व तयारी तथा प्रतिकार्य योजना २०८१’ पारित भएको छ । कोहलपुर नगरपालिकाका नगर प्रमुख पुर्ण प्रसाद आचार्यको अध्यक्षतामा कोहलपुर नगरपालिका नगर विपद् व्यवस्थापन समितिको आज बसेको बैठकले प्रतिकार्य योजना पारित गरेको विपद व्यवस्थापन शाखा प्रमुख समेत रहेका नगर प्रहरी प्रमुख वीरबहादुर थापाले जानकारी दिए । उनका अनुसार मनसुन पूर्व तयारी तथा प्रतिकार्य योजना पारित भएसँगै त्यसको कार्यान्वयन पनि सुरु भएको उनले बताए ।
समितिले यो बर्खायाममा बाढी र डुवानबाट नगरका पन्ध्र वडाका ३ हजार १ घरधुरीका १३ हजार ६३० जनसंख्या प्रभावित हुने प्रक्षेपण गरेको छ । सबैभन्दा धेरै वडा नं. ८, ९, १, १२, १३ र १४ मा बाढी र डुवानको जोखिम देखिएको छ । वडा नं. १२ मा एक हजार घरधुरीका ४ हजार २ सय घरधुरी प्रभावित हुने प्रक्षेपण गरिएको छ । थारु गाउँ, दीपज्योति टोल, शान्ति टोल, निबुवा, जानकी टोल, सुन्दर बस्ती, मसुरी खेत, रामजानकी टोल, रोहिणी, प्रगति टोल र स्कुल टोल जोखिममा रहेको पहिचान भएको प्रतिकार्य योजनामा उल्लेख छ ।
त्यसैगरी वडा नं. १३ का सिमरी, झोलुंगे पुलको दायाँबायाँ, भरैया, थारु गाउँ, खड्कवार, नेरा माविको उत्तर वस्ती गरि १७५ घरधरीका ७४० जनसंख्या प्रभावित हुने अनुमान गरिएको छ । वडा नं. १४ मा हवलदारपुर, गीतापुर, उढरापुर र रिहार गरी १६० घरधुरीका आठ सय परिवार जोखिममा छन् । वडा नं. ८ का आठ सय घरधुरीका ३ हजार २ सय जनसंख्या जोखिममा छन् । मन्नापुर, झर्कट्टी, पिपरीचोक टोल जोखिममा परेका छन् ।
वडा नं. ९ का गणेश टोल, भेरी ग्याँसको पूर्व तथा उत्तरका ३७५ घरधुरीका १ हजार १९५ जनसंख्या प्रभावित हुने आंकलन गरिएको छ । वडा नं. १ का सबै टोल जोखिममा छन् । १५० घरधुरीका ७५० जनसंख्या प्रभावितको आंकलन गरिएको छ । यसैगरी वडा नं. १० मा एकता नगर, चटार गाउँ, राम नगर, जीवनज्योति स्कुल आसपास, डुडुवा खोला आसपासका १२० घरधुरीका ६ सय जनसंख्या प्रभावितको प्रक्षेपण गरिएको छ ।
नगरपालिका क्षेत्रको करीव ६० किलोमिटर क्षेत्रमा डुडुवा खोला, किरण नाला, सानो डुडुवा नाला, इटा नाला, रोहिणी खोला वग्ने गर्छन् । खासगरी डुडुवा खोला, डुडुवा नाला र किरण नालाले यस क्षेत्रमा बाढी र डुवानको जोखिममा पार्ने गरेका छन् ।
समितिको बैठकमा असार ५ गतेको हावाहुरीले पु¥याएको क्षतीको विवरण समेत सार्वजनिक गरिएको छ । उक्त हावाहरीले ११६ घरधुरीमा क्षती पु¥याएको थियो भने ३५५ जना मानिसहरु प्रभावित भएका थिए । एक जनाको मृत्यु समेत भएको थियो ।
बैठकले पीडितहरुको राहतका लागि जिल्ला विपद् व्यवस्थापन समिति र प्रदेश समितिलाई सिफारिस गर्ने निर्णय समेत गरेको छ । बैठकलाई सम्वोधन गर्दै नगर प्रमुख आचार्यले विपद्सँग जुध्न सबैको सहयोग, समन्वय र सहकार्य जरुरी रहेको बताए । उनले विपद् पूर्वको प्रतिकार्य योजनालाई प्रभावकारीरुपमा कार्यान्वयन गर्न पनि निर्देशन दिए । अहिले पनि निरन्तरको झरीले थुप्रै वडाहरुमा डुवानको समस्या देखिएको भन्दै सबैलाई विपदमा सहयोगी बन्न आग्रह गरे ।
बैठकमा नगर उपप्रमुख संगिता सुवेदी, प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकाल, रणबम गणका सेनानी अर्जुन बहादुर थापा, इप्रका कोहलपुरका प्रमुख धर्मराज भण्डारी, राजनीतिक दलका प्रतिनिधिहरु, वडा अध्यक्षहरु लगायतको सहभागिता रहेको थियो । उनीहरुले प्राकृतिक विपत्तिसँग जुध्न, पूर्व तयारीका कार्यक्रमहरुलाई प्रभावकारी बनाइनुपर्ने, विपद्को समयमा उद्दार, राहात र व्यवस्थापनलाई समेत प्रथामिकतामा राखेर योजना बनाउनुपर्नेमा जोड दिएका थिए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार