Listen LIVE

महिला च्याम्पियनसिप : उपाधि खडेरी तोड्ने नेपाललाई अवसर

काठमाण्डौ : अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा आजदेखि अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनसिप  काठमाडौंमा शुरू हुँदैछ।  फोर नेसन्स कपका रूपमा हुने प्रतियोगितामा घरेलु टोली नेपालसँगै किर्गिस्तान, म्यानमार र लेवनानको सहभागिता छ।

उपाधि जित्ने चारै टोलीको दाबी

प्रतियोगितामा सहभागी चारवटै टिमले उत्कृष्ट प्रदर्शन गर्ने दाबी गरेका छन्।खेलअघि  आइतबारआयोजित प्रि–म्याच कन्फ्रेरेन्समा सबै टिमका प्रशिक्षक र कप्तानले यस्तो दाबी गरेका हुन्। नेपाली टिमका प्रशिक्षक राजेन्द्र तामाङले नेपालको तयारी पूरा भएको र आफुहरु खेल्नका लागि तयार रहेको बताए । यस्तै नेपाली टिमकी कप्तान एन्जिला तुम्बापो सुब्बाले यस प्रतियोगिता महिला टिमका लागि उत्कृष्ट अवसर भएको बताइन्।

नेपालले आज कीर्गिस्तानसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ। खेल साँझ ६ बजे दशरथ रंगशालामा सुरु हुनेछ। यसअघि उद्घाटन खेलमा म्यानमार र लेबनानबिच दिउँसो दुई बजे प्रतिस्पर्धा हुनेछ।

यसैगरी प्रि–म्याच कन्फ्रेरेन्समा कीर्गिस्तान, म्यानमार र लेबनानका प्रशिक्षक र कप्तानले पनि उत्कृष्ट खेल्ने दाबी गरेका थिए। नेपालको  दोस्रो खेल फागुन ८ गते लेबनान र तेस्रो खेल ११ गते म्यानमारसँग परेको छ।

एएफसी महिला एसियन कप र फिफा विश्वकप लक्षित प्रतियोगिता फागुन १४ सम्म त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । पछिल्लो समय नेपाली महिला फुटबल टोलीले दक्षिण एसियाबाहेक बाहिरका टोलीसँग पनि खेल्दै आएको छ। 

ओलम्पिक छनोटअन्तर्गत घरेलु मैदानमै भियतनामसँग खेलेको नेपाली टोली गत वर्ष साउदी अरेबियामा भएको वाफ वुमन्स च्याम्पियनसिपको उपविजेता बनेको थियो। नेपालले पहिलो पटक घरेलु मैदानमै तीन राष्ट्रलाई आमन्त्रण गरेर खेल्न लागेको हो।

फिफा वरीयतामा म्यानमार नेपालभन्दा माथि रहँदा कीर्तिस्तान र लेवनान तल छन्। नेपाली महिला फुटबल टोलीले पछिल्लो पटक गत नोभेम्बरमा घरेलु मैदानमै दक्षिण एसियाली फुटबल महासंघ (साफ) च्याम्पियनसिप खेलेको थियो। दशरथ रंगशालामै भएको उक्त प्रतियोगितामा बंगलादेशसँग पराजित हुँदा नेपालले उपविजेतामै चित्त बुझाएको थियो।

हालसम्म अन्तर्राष्ट्रिय प्रतियोगिताको उपाधि जित्न नसकेको नेपाल यस पटक त्यो खडेरी तोड्ने लक्ष्यमा हुनेछ। नेपाल १२ पटक अन्तर्राष्ट्रय प्रतियोगिताको फाइनलमा पुगे पनि उपाधि हात पार्न सकेको छैन ।

प्रतिक्रिया