राप्तीसोनारी (बाँके) : बाँकेको राप्तीसोनारी गाउँपालिका–२ का वडाध्यक्ष ज्ञानेन्द्रराज वलीले आफ्नो वडाभित्र हावाहुरीबाट पीडित बनेका चार घरपरिवारलाई आफ्नो सेवासुविधाबाट सय थान टिन (जस्तापाता) उपलब्ध गराएका छन् ।
गत बुधबार राति आएको हावाहुरीका कारण वडाका विभिन्न गाउँका स्थानीयवासीन्दाहरुको घरको छाना उडाएर पीडित बनाएपछि उनले अत्यन्तै विपन्न परिवार छनौट गरेर चार घरपरिवारलाई पुग्ने गरी सय थान जस्तापाता उपलब्ध गराएका हुन् ।
“गत बुधबार राति आएको हावाहुरीका कारण वडाभित्रका धेरै स्थानीयका घरका छाना उडाएर लग्यो, वडा भित्रका विभिन्न गाउँका स्थानीयहरू अत्यन्तै दयनीय अवस्थामा हुनुहुन्छ,” वडाध्यक्ष वलीले भने, “अत्यन्तै विपन्न केही घरपरिवार छनौट गरेर मैले पाउने आफ्नो तलबभत्ता तथा अन्य सुविधाबाट चार घरपरिवारलाई एक सय थान जस्तापाता खरिद गरेर प्रदान गरेको हुँ ।”
वडाध्यक्ष वलीका अनुसार कसैको अभिभावक नभएको परिवार, कोही शारीरिक अशक्त तथा अपाङ्ग भएको परिवार तथा अत्यन्तै दयनीय अवस्थामा रहेका अत्यन्तै विपन्न चार घरपरिवारलाई घर छाउनका लागि पुग्ने गरी सय थान जस्तापाता प्रदान गरिएको हो । उनका अनुसार हावाहुरीले पूर्णरुपमा क्षति पुर्याएको खोरीया टोलका एक, मदुवा टोलका एक, अम्रहवाका एक र टिकुलीपुरका एक गरी चार घरपरिवारलाई जस्तापाता उपलब्ध गराइएको हो ।
वडाध्यक्ष वलीले आफू निर्वाचित भएर आएदेखि हालसम्म सरकारबाट पाउने तलब भत्ता तथा कुनै सेवासुविधा लिएका छैनन् । उनले तलब भत्ता लगायतका अन्य सेवा सुविधा जनताकै काममा खर्च गर्दै आएको बताए ।
“म वडाध्यक्ष निर्वाचित भएर आएदेखि सरकारले दिने तलब भत्ता लगायतका कुनै पनि सेवा सुविधा लिएको छैन, मैले प्राप्त गर्ने सबै सेवा सुविधा वडाका जनताकै लागि खर्च गर्दै आएको छु,” उनले भने, “तलब भत्ता बुझ्ने भए त जागिर गरे भइहाल्यो नि, जनप्रतिनिधि भएर जनताकै मतबाट चुनिएर आएपछि जनताकै लागि काम गर्नुपर्छ भन्ने मेरो मान्यता हो, मैले पाउने सेवा सुविधा सबै जनाताकै हो, जनताकै लागि खर्च गर्नुपर्छ ।”
राप्तीसोनारी २ का वडाध्यक्ष वलीले आफूले प्राप्त गर्ने सेवा सुविधाबाट विभिन्न सामाजिक कार्यमा खर्च गर्दै आएका छन् । वडाध्यक्ष वलीबाट देशका अन्य वडाध्यक्षहरूले पनि पाठ सिक्नुपर्ने देखिन्छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार