Listen LIVE

परीक्षा प्रणाली सुधार गर्दा नतिजा खस्कियो : मेयर आचार्य

कोहलपुर (बाँके) : बाँकेको कोहलपुर नगरपालिकाभित्रका कुनै पनि सामुदायिक विद्यालयले विक्रम संवत् २०८० सालको एसइई परीक्षामा शतप्रतिशत नतिजा ल्याउन सकेका छैनन् । कोहलपुर नगरपालिकामा संस्थागत र सामुदायिक गरेर ३८ वटा विद्यालय छन् । शतप्रतिशत नतिजा तीन वटा संस्थागत विद्यालयले मात्र ल्याएका छन् । जसमा जनज्योति पब्लिक स्कुल, जीवन ज्योति मावि कोहलपुर र पञ्चमुखी स्कुल छन् ।

कोहलपुरमा संस्थागत विद्यालयहरु २४ वटा रहेकोमा तीन वटाले मात्र शतप्रतिशत नतिजा ल्याउन सफल भएको कोहलपुर नगरपालिकाका शिक्षा शाखा प्रमुख रामबहादुर हमालले बताए ।

उनका अनुसार दुई वटा विद्यालयको नतिजा त झनै शून्य प्रतिशत आएको छ । जनता मावि मैटहवा सरकारीतर्फ र निजीतर्फ एभरेष्ट सैनिक कोहलपुरले शून्य प्रतिशत नतिजा ल्याएका हुन् । यसरी हेर्दा जम्मा पास प्रतिशत ६७ रहेको शिक्षा शाखा प्रमुख हमालले जानकारी दिए ।

शिक्षाक्षेत्रमा सबैभन्दा धेरै झण्डै ११ करोड बजेट विनियोजन गरेको कोहलपुर नगरपालिकामा एसइई परीक्षामा नतिजा निराशाजनक आएको कोहलपुर नगरपालिकाका नगरप्रमुख पूर्णप्रसाद आचार्यले बताए । उनले भने, “हामीले नगरपालिकामा आइसकेपछि धेरै छलफल र सुधारका लागि प्रयास गरेका थियौं । जसको फलस्वरुप परीक्षा प्रणालीलाई मर्यादित बनाउने कामको थालनी गर्न सफल भयौं । हामीलाई पूर्वानुमान थियो कि यसपालि यसप्रकारको नतिजा आउँछ भन्नेमा । भविष्यमा अझै राम्रो गर्ने अवसर यस नतिजाले हामीलाई दिएको छ । हामी सुधार गरेर जानेछौं ।”

यसभन्दा अगाडि सामाजिक विकासभन्दा पनि पूर्वाधार विकासलाई मात्र जोड दिँदा यस्तो नतिजा आएको प्रमुख आचार्यले बताए । आगामी दिनमा शतप्रतिशत सबै विद्यालयको नतिजा आउने गरी शिक्षाक्षेत्रमा पहल गर्ने पनि उनले बताए ।

प्रतिक्रिया