नेपालगञ्ज : जिल्ला प्रहरी कार्यालय बाँकेले सिर्जना बुढा मगरको जलेर मृत्यु भएको प्रकरणमा फरार रहेका प्रतिवादीलाई पक्राउ गरेको छ । प्रहरीको उच्च स्रोतका अनुसार थप दुई जना पक्राउ परेका छन् । उनीहरुलाई भारतको नयाँ दिल्लीबाट पक्राउ गरिएको हो ।
२०८२ साल चैत १४ गते राति करिब ११ः ३५ बजे नेपालगञ्ज उपमहानगरपालिका–१२ कोरियनपुरस्थित सडकमा सोही स्थानकी २२ वर्षीया सिर्जना बुढा मगरको जली मृत्यु भएको घटनापछि अनुसन्धान सुरु गरिएको थियो । घटनासम्बन्धी मृतकका परिवारले दिएको जाहेरीका आधारमा प्रहरीले अनुसन्धान अघि बढाएको थियो ।
उक्त घटनामा संलग्न रहेको आरोपमा मुख्य अभियुक्त सिर्जनाका प्रेमी आरिफ ढपाली, उनकी आमा र दिदीलाई यसअघि नै नियन्त्रणमा लिइ अनुसन्धान भइरहेको थियो । घटनापछि फरार रहेका आरिफ ढपालीका बुवा र भाइलाई भने प्रहरी टोलीले भारतको नयाँ दिल्लीबाट पक्राउ गरेको स्रोतले जनाएको छ ।
पक्राउ पर्नेमा ५० वर्षीय रहमत ढपाली र २१ वर्षीय मो आदिल ढपाली रहेका छन् । भारतीय प्रहरीसँगको समन्वयमा रहमत र आदिललाई पक्राउ गरिएको प्रहरीको उच्च स्रोतले जानकारी दिएको छ । रहमतले सामाजिक सञ्जालमार्फत भिडियो सार्वजनिक गर्दै श्रीमति र आफ्ना सन्तानको रिहाइ माग गरेका थिए । त्यसमा उनले श्रीमति र छोराछोरीलाई प्रहरीले हिरासतमुक्त गरे आफु प्रहरीमा आत्मसमपर्ण गर्ने बताएका थिए ।
त्यही भिडियोको आधारमा प्रहरी उनीसम्म पुग्न सफल भएको स्रोतले बताएको छ । प्रहरीले पक्राउ परेकामाथि आवश्यक अनुसन्धान भइरहेको र घटनाको थप विवरण क्रमशः सार्वजनिक गरिने प्रहरीले जनाएको छ । बाँकेका एसपी अंगुर जिसीले यो घटनालाई गम्भीर रुपमा लिँदै अनुसन्धानलाई व्यापाक बनाइरहेका छन् ।
अपराध अनुसन्धानमा काविल जिसीको कमाण्डले बाँकेका आमनागरिकले शान्तिको अनुभूति गरिरहेका छन् भने अपराधिक पृष्ठभूमिका मानिसहरुको भागदौड नै मच्चिएको सुरक्षावृत्तमा चर्चा चलेको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार