नेपालगञ्ज : नेपालको एकमात्र रात्री दौड नेपालगञ्ज १० नाइट रनमा यसबर्ष रिले दौड विधा समेत समावेश गरिएको छ ।
विश्व दौडको साझा संस्था एसोसियसन अफ इन्टरनेशनल म्याराथन एण्ड डिस्टेन्स रेस(एम्स)बाट मान्यता प्राप्त गरेपछि पहिलो पटक हुन लागेको नाइट रनको यो दोस्रो संस्करण हो । एम्सद्वारा यसअघि नै प्रमाणीकरण रुटमै रात्री दौडसमेत सञ्चालन हुनेछ ।
असोज ३ गते संविधान दिवसको दीप प्रज्वलनसँगै सुरु हुने नाइट रनमा १० किलोमिटर पुरुष र महिला खुल्ला, ५ किलोमिटर छात्र एवं छात्रा स्कुल स्तरीय दौड, १० किलोमिटर भेट्रान्स पुरुष (५० बर्षमाथि उमेर समुह), ५ किलोमिटर भेट्रान्स महिला (४५ बर्ष माथि उमेरसमुह) र १० किलोमिटर मिक्स रिले(चार जनाको समुह दौड) गरी अलग स्पर्धा राखिएको छ । मिक्स रिले नेपालमा पहिलोपटक प्रयोग गर्न लागिएको हो । यसमा स्कुल, कलेज, क्लब वा कुनै पनि संघसंस्थाले महिला पुरुष गरी चार जनाको समूह बनाएर स्पर्धा गर्न सकिने रेस डाइरेक्टर चन्द्रबहादुर गुरुङले बताए । ‘दश किलोमिटरलाई समान चार दुरीमा बाँडेका हुन्छौं, त्यहीअनुसार धावकले आफ्नो पालोमा आफ्नो दुरी पुरा गर्नुपर्ने हुन्छ ।’ रेस डाइरेक्टर गुरुङले भने¬‘यो दौडले रोमान्चकता थप्नेछ र दौडमा आम सर्वसाधारणलाई समेत आकर्षित गर्नेछ ।’
पहिलोपटक समावेश गरिएको रिले दौडले आम मान्छेलाई दौडको मजा लिन प्रेरित गर्ने एम्स दुत तथा धारा नेपालगञ्ज म्याराथनका संस्थापक टीएस ठकुरीले बताए । ‘नेपालको पुरानो सहरलाई जीवन्त बनाइरहन दौडका विभिन्न विधालाई उजागर गर्न प्रयासरत छौं ।’ संस्थापक ठकुरीले भने¬‘नेपालगन्जलाई दौडको सहर बनाउने अभियानअन्तर्गत हामीले कर्म गरिरहेका छौं, दौडिरहने सहरको परिचयले पनि सहरको ब्रान्डिङमा सघाउनेछ ।’
नेपालगन्ज १० नाइट रन एक दशक यात्रा पुरा गरेको धारा नेपालगञ्ज म्याराथनकै भगिनी इभेन्ट हो । यी दुवैको संयोजन एवं व्यवस्थापन क्रियटिभ गन्जले गर्दै आएको छ ।
नेपालगञ्ज उपमहानगरपालिका नजिकै रहेको बीपी चोकदेखि सुरु भइ राँझा चोक पुगेर पुनः सोही रुटबाट बीपी चोकमै पुगेपछि दश किलोमिटर दुरी पुरा हुन्छ । नाइट रनका क्रममा ट्राफिक व्यवस्थापनलाई मध्यनजर गरी सडक एकतर्फी मात्र सन्चालन गरिने भएको हुँदा धावकलाई सहज हुने गर्दछ । एक महिना बाँकी रहँदा दर्ता खुला गरिएको नेपालगञ्ज नाइट रनका विजेतालाई नगद पुरस्कारका साथै सरप्राइज पुरस्कार चाँडै घोषणा गरिने ठकुरीले बताए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार