Listen LIVE

कोहलपुर गोल्डकपको तयारी पूरा

नेपालगञ्ज : बाँकेको कोहलपुरमा सञ्चालन हुन लागेको 'कोहलपुर गोल्डकप' फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ । 

कोहलपुर रेसिङ साहारा क्लबद्वारा आयोजित प्रतियोगिताको चौथो संस्करण यही वैशाख १९ गतेदेखि २६ गतेसम्म कोहलपुर–२ स्थित तेह्र बिघा खेल मैदानमा हुने छ ।

प्रतियोगिताको टाइसिट (खेलतालिका) सार्वजनिक गर्दै आयोजकले सहभागी टिमहरू र तयारीबारे जानकारी दिएको हो । प्रतियोगितामा देशका विभिन्न क्षेत्रका क्लबहरूसँगै विदेशी टोलीहरूको पनि सहभागिता रहने बताइएको छ ।

प्रतियोगितामा नेपालका विभिन्न प्रतिष्ठित क्लब तथा विदेशी टिमको समेत सहभागिता रहने छ । प्रतियोगितामा सहभागी हुने टिमहरूमा आयोजक रेसिङ सहारा क्लब (कोहलपुर, बाँके), पञ्चकोशी युवा क्लब (सुदूरपश्चिम), लालीगुराँस एसोसिएसन क्लब -पोखरा), सातदोबाटो युवा क्लब (ललितपुर), जस्ट जोन एफसी (नाइजेरिया), रोयल फुटबल क्लब (कर्णाली), राइजिङ स्टार क्लब (नवलपरासी) र विभागीय टिम नेपाल पुलिस क्लब रहेका छन् ।

कोहलपुर गोल्डकपका म्याच कमिस्नर दयाराम सापकोटाले समूह चरणमा आठ टिमबिच चार खेल हुने बताए । उनका अनुसार वैशाख १९ गते उद्घाटन खेल आयोजक कोहलपुर रेसिङ साहारा क्लब कोहलपुर र पञ्चकोशी युथ क्लब सुदूरपश्चिमबिच हुने छ । 

२० गते विदेशी क्लब जस्ट जोन एफसी नाइजेरिया र रोयल फुटबल क्लब कर्णाली प्रदेशबिच खेल हुने उनले बताए । २१ गते लालीगुुराँस एसोसियसन क्लब पोखरा र सातदोबाटो युथ क्लब ललितपुर भिड्ने छन् । २२ गते विभागीय टिम नेपाल पुलिस क्लब काठमाण्डौ र साविक विजेता राइजिङ स्टार क्लब सुनवल नवलपरासीबिच हुने उनले जानकारी दिए । 

कुल आठ टिममध्ये जित्ने चार टिम सेमिफाइनल प्रवेश गर्ने र पराजित हुने टिम गोल्डकपबाट बाहिरिने छ । पहिलो सेमिफाइन २३ र दोस्रो सेमिफाइनल खेल २४ गते हुने छ । पहिलो र दोस्रो सेमिफाइनलमा जित्ने टिम कोहलपुर गोल्डकपको फाइनल प्रवेश गर्ने छन् भने हार्ने टिमको चौथो संस्करणको कोहलपुर गोल्डकप यात्रा टुङ्गिने छ । 

फाइनल पुग्ने टिमबिच २५ गते प्रिम्याच प्रेस कन्फ्रेन्स आयोजना गरिने म्याच कमिस्नार सापकोटाले जानकारी दिए । २६ गते गोल्डकपको फाइनल खेल हुने छ । 

प्रतियोगिताका संयोजक कर्ण बस्नेतले खेलमैदान, आवास, सुरक्षा तथा दर्शक व्यवस्थापनलगायत सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी दिए ।

प्रतियोगितालाई व्यवस्थित र आकर्षक बनाउने उद्देश्यले आवश्यक सबै पूर्वाधार तथा समन्वयको काम सम्पन्न गरिएको उनले बताए । उनका अनुसार दर्शकहरूलाई प्रतियोगिताका सबै खेल निःशुल्क हेर्ने व्यवस्थासमेत मिलाइएको छ ।

प्रतियोगिताले स्थानीय खेलकुद विकाससँगै फुटबलप्रेमी दर्शकलाई उच्चस्तरीय खेलको अनुभूति दिलाउने अपेक्षा गरिएको आयोजक क्लबका अध्यक्ष चक्र चिमला क्षेत्रीले बताए । 

आयोजकका अनुसार खेलमार्फत पर्यटनको विकास गर्ने उद्देश्यले फाइनल पुग्ने दुई टिमलाई बाँके राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी गराइनुका साथै उनीहरूलाई स्थानीय होमस्टेको मौलिक खानपान र बासको अनुभवसमेत गराइने व्यवस्था मिलाइएको छ ।

प्रतियोगिताको विजेताले आठ लाख तथा उपविजेताले चार लाख रुपैयाँको नगद पुरस्कार प्राप्त गर्ने छन् । प्रथम कोहलपुर गोल्डकपको उपाधि एफसी क्लब क्यामरुन -क्यामरुन)ले जितेको थियो ।

दोस्रो संस्करणको 'मुख्यमन्त्री कोहलपुर गोल्डकप–२०८०'को उपाधि त्रिभुवन आर्मी क्लब र 'तेस्रो मुख्यमन्त्री कोहलपुर गोल्डकप–२०८१'को उपाधि राइजिङ स्टार फुटबल क्लबले जितेका थिए ।

प्रतिक्रिया