Listen LIVE

चीन र रुसले प्रशान्त महासागरमा संयुक्त सैन्य गस्ती गर्ने

काठमाण्डौ : चीन र रुसले उत्तरी र पश्चिमी प्रशान्त क्षेत्रमा संयुक्त नौसैनिक गस्ती गर्ने भएका छन्। चीनको रक्षा मन्त्रालयले यो अभ्यास कुनै अन्य मुलुकप्रति ‘लक्षित’ नभएको बताएको छ।

हालैका वर्षमा दुवै मुलुक नजिक भएका छन्। उनीहरूको मित्रतालाई ‘सीमाहीन’ भनिएको छ। दुवै मुलुकको अमेरिकी नेतृत्वको पश्चिमी रक्षा गठबन्धन नाटोसँग शत्रुतापूर्ण सम्बन्ध छ।

सन् २०२२ फेब्रुअरीमा युक्रेनमाथि रुसी आक्रमणको सुरुआतपछि बेइजिङले मस्कोसँग आफ्नो कूटनीतिक, आर्थिक र सैन्य सम्बन्धलाई थप बलियो बनाएको छ।

युक्रेनमाथि रुसी आक्रमणको कहिल्यै निन्दा नगरेको चीनले द्वन्द्वमा आफू तटस्थ पक्ष रहेको बताएको छ। यद्यपि पश्चिमी नेताहरूले रुसलाई राजनीतिक र आर्थिक समर्थन दिएको भन्दै चीनको आलोचना गरेका छन्। यसमा नागरिक र सैन्य दुवै प्रयोग हुने सामानको व्यापार पनि समावेश छ। 

‘चीन र रुसबीच वार्षिक योजना र सहमतिअनुसार दुई मुलुकका नौसैनिक जहाजहरूले हालै पश्चिमी र उत्तरी प्रशान्त महासागरमा आफ्नो चौथो संयुक्त सामुद्रिक गस्ती गरेका छन्”, चिनियाँ रक्षा मन्त्रालयले आइतबार विज्ञप्तिमा भनेको छ, ‘यो अपरेसन कुनै पनि तेस्रो पक्षप्रति लक्षित छैन र वर्तमान अन्तर्राष्ट्रिय र क्षेत्रीय अवस्थासँग यसको कुनै सरोकार छैन।’ प्रशान्त युद्धाभ्यासमा जहाजहरूको मार्ग, उनीहरूको सही स्थान वा संलग्न सेनाहरूको प्रकृतिसहित कुनै विवरण प्रदान गरिएको छैन। 

शुक्रबार चीनले उसको दक्षिणी तटमा रुससँग पनि संयुक्त सागर–२०२४ नामको अभ्यास गरिरहेको बताएको छ। नाटो नेताहरूले बेइजिङ युक्रेनमा मस्कोको युद्धको ‘निर्णायक समर्थक बनेको’ घोषणा गरेपछि र जापानले मस्कोसँग बेइजिङको बलियो सम्बन्धबाट बढ्दो खतराको चेतावनी दिएपछि संयुक्त सैन्य अभ्यास भएको हो। बेइजिङले ती आलोचनालाई अस्वीकार गरेको छ। 

‘सामुद्रिक  सुरक्षा खतरालाई संयुक्तरूपमा सम्बोधन गर्न र वैश्विक तथा क्षेत्रीय शान्ति र स्थिरतालाई संरक्षण गर्न दुवै पक्षको सङ्कल्प र क्षमता प्रदर्शन गर्न’ दक्षिणी गुआङडोङ प्रान्तस्थित झानजियाङ सहरको वरपर जल र हवाई क्षेत्रमा अभ्यास गरेको मन्त्रालयले बताएको छ। 

रुसी रक्षा मन्त्रालयले शनिबार उसका दुई युद्धपोत संयुक्त नौसैनिक अभ्यासमा भाग लिन झानजियाङ पुगेको बताएको थियो। युरोपियन युनियन इन्स्टिच्युट फर सिक्योरिटी स्टडिजले जुलाईको प्रारम्भमा एक रिपोर्टमा चीन र रुसले नियमितरूपमा संयुक्त सैन्य  अभ्यास गर्ने गरेको तर उनीहरूको अन्तरसञ्चालन क्षमता स्तर नाटोभन्दा धेरै कम रहेको बताएको थियो ।

प्रतिक्रिया