गुल्मी : गुल्मी तेक्वान्दो डोजाङको आयोजनामा जिल्लास्तरीय तेक्वान्दो प्रतियोगिता हुने भएको छ । यही साउन १७ गते जिल्ला खेलकुद विकास समिति गुल्मीको कभर्डहलमा प्रतियोगिता सञ्चालन हुने आयोजकले जनाएको छ । प्रतियोगिताको सह–आयोजकको रूपमा इस्मा तेक्वान्दो डोजाङ रहेको छ ।
प्रतियोगीतामा छात्र ११ र छात्रा ११ तौल समूहमा फाइट र एकल पुङसे गरेर करिब १५० खेलाडी सहभागी हुने सह–आयोजक इस्मा तेक्वान्दो डोजाङका अध्यक्ष दीपक जिसीले जानकारी दिए । जिल्लामा रेसुङ्गा र मुसिकोट नगरपालिका तथा इस्मा र मालिका गाउँपालिकामा तेक्वान्दो डोजाङ मार्फत प्रशिक्षणहरू सञ्चालन भएका छन् । पछिल्लो समय जिल्लामा तेक्वान्दो खेलप्रति आर्कषण बढ्दै गएको छ ।
जोखिमपूर्ण खेलको रूपमा हेरिने तेक्वान्दोलाई अहिले विभिन्न ठाउँहरूमा सौहार्दपूर्ण रूपमा सञ्चालन गरिएको तेक्वान्दो खेलका प्रशिक्षकसमेत रहेको इस्मा तेक्वान्दो डोजाङका अध्यक्ष जिसीले बताए । यो जिल्लास्तरीय प्रतियोगिता पहिलो पटक आयोजना गरिएको छ । तीन वर्ष पहिले इस्मा तेक्वान्दो डोजाङले प्रदेशस्तरीय प्रतियोगिता सम्पन्न गरेको थियो ।
प्रतियोगीतामा उत्कृष्ट हुने खेलाडीहरूलाई विधा अनुसारको पदक, प्रमाणपत्रसहित उत्कृष्ट पुरस्कारको व्यवस्था आयोजकले गरेको छ । यो तेक्वान्दो २०५४ सालबाटै जिल्लामा खेल्न थालिएको थियो । तर, २०६५ सालबाट सङ्गठित गरेर अगाडि बढेको मुख्य आयोजक गुल्मी तेक्वान्दो डोजाङका अध्यक्ष गिरी प्रसाद महाकिमले जानकारी दिए ।
राष्ट्रपति रनिङशिल्डमार्फत विद्यालयस्तरिय खेल बन्दै गएको छ । जिल्लाबाट राष्ट्रिय प्रतियोगीतामा सहभागी भएर दीपा पुनले स्वर्ण र दिपेन्द्र चुँदाराले रजत पदक प्राप्त गरेका छन् । त्यस्तै प्रदेशस्तरीय खेलमा प्रकाश खासु सहभागी भएर उत्कृष्टता प्रर्दशन गरेको महाकिमले बताए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार