Listen LIVE

नेपालगञ्जमा जोखिमयुक्त आवास क्षेत्रमा घर बिमा कार्यक्रम शुरु

नेपालगञ्ज : भूकम्प र वर्षामा घर खस्ने जोखिममा रहेका नेपालगन्ज उपमहानगरपालिकाको पुरानो बस्तीलाई लक्षित गरेर उपमहानगरले जोखिमयुक्त आवास क्षेत्रमा पहिलो पटक घर बिमा कार्यक्रम शुरु गरेको छ । नगरको जोखिमयुक्त आवास क्षेत्रमा विपत् जोखिम न्यूनीकरणका लागि नेपालमै नमुनाका रूपमा पहिलो पटक यहाँ घर बिमा कार्यक्रम सुरु गरिएको नेपालगञ्ज उपमहानगरका नगरप्रमुख  प्रशान्त विष्टले बताए । 

उनले घर बिमा कार्यक्रम अन्तर्गत उपमहानगरले अति जोखिमयुक्त वडा नम्बर ३ र ७ का एक हजार दुई घरका लागि १५ लाख रुपैयाँको बिमा गर्न सुरु गरेको बताए । 

नेपालगञ्जको दुई वटा वडाका एक हजार दुई सय घर अति जोखिममा रहेको देखिएकाले तिनै घरका लागि घर बिमा कार्यक्रम सुरु गरिएको नेपालगञ्ज उपमहानगरपालिकाले जनाएको छ । उपमहानगरपालिकाले विपद् जोखिमसम्बन्धी कार्यविधि–२०८० निर्माण गरेर आवासीय घरको बिमा गर्न शुरु गरेको जनाएको छ । आपात्कालीन कार्यसञ्चालन केन्द्र बाँकेका सूचना व्यवस्थापन अधिकृत रूपन ज्ञवालीले यो कार्यक्रमले विपत्पछिको जोखिम कम गर्न ठुलो मदत पुग्ने बताए । 

राष्ट्रिय बिमा कम्पनीसँग सम्झौता गरेर घर बिमाको काम अगाडि बढिसकेको उपमहानगरले जनाएको छ । राष्ट्रिय बिमा कम्पनी नेपालगञ्ज शाखाका अनुसार सम्पत्ति बिमा निर्देशन, २०८० को घर बिमा कार्यक्रम अन्तर्गत प्रतिघर १५ लाख रुपैयाँको घर बिमाका लागि भ्याटसहित वार्षिक ८०५ रुपैयाँ प्रिमियम तिर्नुपर्ने छ । यसमा हरेक घरको पाँच जना सदस्यको प्रतिव्यक्ति सात लाख रुपियाँको दरले दुर्घटना बिमा पनि समावेश गरिएको राष्ट्रिय बिमा कम्पनी नेपालगञ्जका शाखा प्रमुख नवीन शर्मा पौडेलले जानकारी दिए । 

नेपालगञ्जको पुरानो, साँघुरो र जीर्ण बस्ती रहेको वडा नम्बर ३ र ७ मा अधिकांश घर जोखिमयुक्त अवस्थामा छन् । बिमा कार्यक्रमले जोखिम बहन गर्ने भएपछि जनप्रतिनिधि र स्थानीय उत्साहित देखिन्छन् । 

घर बिमा कार्यक्रमले विपत्का कारण घरमा नोक्सानी पुगेपछि त्यसको क्षतिपूर्ति पाइने सुनिश्चित हुँदा निकै राहत महसुस भएको वडा नम्बर ३ का स्थानीय अनिश अहमद हलवाईले बताए । उनले यो कार्यक्रमले धेरै स्थानीय लाभान्वित हुने बताए । 

नेपालगञ्जमा सञ्चालन गरिएको सहरी विपत् तथा भूकम्पीय पूर्वतयारी परियोजनाको पहलमा शुरु गरिएको घर बिमा कार्यक्रम अन्तर्गत बिमा भएका घरमा मृत्यु, घाइते वा घरमा क्षति भएको हकमा सोही अनुसार बिमा दाबी गर्न पाइने छ । 

बिमा कार्यक्रम अन्तर्गत आगलागी, हावाहुरी, चट्याङ, भूकम्प, जमिन खस्ने, भासिनेलगायतबाट हुने घरको क्षतिको बिमा गरिएको उपमहानगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया