काठमाण्डौ : नेपाली यु–१९ महिला टिमले विश्वकपमा पहिलो जित दर्ता गरेको छ। समूह चरणका तीन खेलमा पराजित भएको नेपालले प्लेअफ म्याचमा मलेसियालाई ७ विकेटले हराएको हो।
टस जितेर सुरुमा बलिङ गरेको नेपालले मलेसियालाई १६.५ ओभरमा ४५ रन बनाउँदा अल आउट गरेको थियो। सुरुमा ब्याटिङ गरेको मलेसियाका लागि नुरिमन हिदयाहले १५ रन बनाइन् भने अन्य ब्याट्सम्यानले दोहोरो अङ्कमा रन जोड्न सकेनन्।
मलेसियालाई सस्तैमा समेट्न नेपालका लागि कप्तान पूजा महतोले ९ रन खर्चिएर चार विकेट लिइन् भने रचना चौधरीले तीन ओभरमा एक मेडनसहित ५ रन खर्चिएर तीन विकट हात पारिन् । नेपालका लागि थप दुई विकेट रिया शर्मा र सिम्रन केसीले लिइन् ।
४६ रनको लक्ष्य पछ्याएको नेपालले ११ ओभरमा तीन विकेटको क्षतिमा ४७ रन बनाउँदै सात विकेटको जित निकालेको हो। नेपालको जितका लागि कप्तान पूजा महतोले नटआउट ३२ बलमा चार चौकाको मद्दतमा २३ रन जोडिन् । साना प्रविन १, सावित्रा धामी ३ र ज्योत्स्नीका मरासिनीले ९ रन बनाउँदा सिम्रन केसी ४ रनमा नटआउट रहिन् ।
नेपालका कप्तान पूजा प्लेयर अफ द म्याच बनिन् । यसअघि समूह चरणको पहिलो खेलमा बङ्गलादेशसँग पाँच विकेटले पराजित भएको नेपालले स्कटल्याण्डसँगको खेल एक विकेटले गुमाएको थियो। समूह चरणको अन्तिम खेलमा अस्ट्रेलियासँग भने नेपाल ८३ रनले पराजित भएको थियो।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार