Listen LIVE

जाजरकोटमा बसपार्क नहुँदा पार्किङ समस्या

जाजरकोट : जाजरकोट सदरमुकाम खलंगामा बसपार्क नहुँदा सवारीसाधन पार्किङमा समस्या भएको छ । करिब २० वर्षअघिदेखि यातायातका साधन सञ्चालनमा आए पनि व्यवस्थित बसपार्क नहुँदा व्यवसायी र यात्रु दुवै समस्यामा परेका हुन् ।

सदरमुकाममा दैनिक पाँच दर्जनभन्दा बढी लामो तथा छोटो दूरीका सवारीसाधन आवतजावत गर्ने गरेका छन् । गाडी राख्ने बसपार्क नहुँदा सडक किनारमै पार्किङ गर्नुपर्ने बाध्यता रहेको छ । भेरी नगरपालिका–४ शान्तिचौतारास्थित हालको बसपार्क सानो हुनुका साथै सर्वसाधारणको जग्गामा परेकाले एक दर्जन गाडी पार्किङ गर्नसमेत कठिन हुने गरेको छ ।

भेरी गंगा यातायात प्रालिका सुनिल खनालले बसपार्क नहुँदा सडकमै गाडी पार्किङ गर्नुपरेको बताए । जाजरकोटबाट नेपालगञ्ज, सुर्खेत तथा कालिमाटी–बारेकोट–तल्लुबगर हुँदै डोल्पा र रुकुम पश्चिमसम्म दैनिक तीन दर्जनभन्दा बढी सवारीसाधन आवतजावत गर्ने गरे पनि गाडी राख्ने उपयुक्त स्थान छैन । जाजरकोट–काठमाडौँसम्म पनि नियमित सवारीसाधन सञ्चालन हुँदै आएका छन् ।

बसपार्क निर्माणका लागि सरोकारवालासँग पटक–पटक छलफल भए पनि शान्तिचौतारा बनाउने कि तल्लो थाप्ले बनाउने भन्ने विवाद टुंगोमा नपुग्दा पार्किङ समस्या समाधान हुन सकेको छैन । सरोकारवालाले ठोस निर्णय लिन नसक्दा बस व्यवसायी थप मर्कामा परेका छन् ।

बसपार्क निर्माणका लागि छुट्याइएको स्थानमा सर्वसाधारणले अव्यवस्थित बसोबास गर्न थालेपछि समस्या झन् जटिल बनेको व्यवसायीको भनाइ छ ।

भेरी नगरपालिका–४ का समाजसेवी खम्बजंग शाहले सरोकारवालाबिचको विवादकै कारण सडकमै सवारीसाधन राख्नुपर्ने अवस्था रहेको बताए । पार्किङका लागि उपयुक्त स्थान नहुँदा क्षमता भन्दा बढी गाडी सडकमा राख्नुपरेको उनको भनाइ छ ।

लामो तथा छोटो दूरीका सवारीसाधन नियमितरूपमा सञ्चालन भइरहे पनि व्यवस्थित बसपार्क नहुँदा पार्किङ समस्या दिनप्रतिदिन बढ्दै गएको छ ।

प्रतिक्रिया