Listen LIVE

नेपालगञ्जका जनप्रतिनिधीद्वारा विपन्नलाई खाद्यान्न सहयोग

नेपालगञ्ज : नेपालगञ्जका जनप्रतिनिधिले अध्ययन भ्रमणका लागि छुट्याइएको रकमबाट अति विपन्न र गरिब परिवारलाई खाद्यान्न वितरण गरेका छन् ।   

नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ७ का जनप्रतिनिधिहरुले अध्ययन भ्रमणका लागि छुट्याएको बजेट रकमबाट वडाभित्रका असहाय, गरिब र अति विपन्न परिवारलाई खाद्यान्न वितरण गरेको वडा अध्यक्ष प्रशान्त श्रेष्ठले बताए । 

उनका अनुसार जनप्रतिनिधिहरु विभिन्न ठाउँमा अध्ययन भ्रमणका लागि जान भनि विनियोजन गरिएको बजेटबाट वडाभित्रका अपाङ्गता भएका नागरिक र गरिबीको रेखामुनि रहेका असहाय तथा अति विपन्न सय परिवारलाई खाद्यान्न वितरण गरिएको हो । वडा नम्बर ७ का एक सय परिवारलाई १२ किलो चामल सहितको खाद्यान्न वितरण गरिएको जानकारी दिंँदै वडाध्यक्ष श्रेष्ठले भ्रमण जानुभन्दा गरिब, असहाय जनतालाई सहयोग गर्ने निर्णय जनप्रतिनिधिहरुले गरेपछि सोही निर्णय कार्यान्वयन गरिएको बताए । 

उनले थपे, “जनस्तरबाट पनि त्यसका लागि सुझावहरु आएका थिए, हामीले जनस्तरबाट आएका सुझावहरुलाई पनि निरन्तर कार्यान्वयन गर्दै आएका छौं ।“ 

यसअघि पनि विभिन्न सिर्जनात्मक कार्य गरी जनताको हितमा वडा कार्यालय अगाडि बढिरहेको जानकारी दिँदै वडाध्यक्ष श्रेष्ठले जनप्रतिनिधि र जनतालेसँगै बसेर विभिन्न निर्णय गर्ने गरेको बताए । सो वडाका अपाङ्गता भएका व्यक्तिहरु, एकल महिला तथा अति विपन्न र गरिब सय बढी परिवारलाई वडाध्यक्ष श्रेष्ठसँगै वडा सदस्यहरु चन्द्रकला गुरुङ्ग, कल्पना नेपाली, नुर मोहम्मद खान र समिर खान लगायतले खाद्यान्न वितरण गरेका थिए । 

खाद्यान्न राहत पाएपछि अधिकांश स्थानीयले वडा कार्यालयप्रति आभार व्यक्त गरेका थिए ।

प्रतिक्रिया