Listen LIVE

नेपालगञ्ज रंगशालामा हुने लुम्बिनी कपको तयारी पुरा

नेपालगञ्ज : फागुन १९ गतेदेखि नेपालगञ्ज रंगशालामा हुने अन्तर्राष्ट्रिय आमन्त्रण लुम्बिनी कप महिला फुटबल प्रतियोगिताका लागि रंगशालाको मर्मतसम्भार र सरसफाइ गरेर तयार पारिएको छ । 

प्रतियोगिताको अन्य तयारीसँगै रंगशालाको सरसफाइदेखि सामान्य मर्मतसम्भार र मैदानलाई तयार गर्ने कार्य पुरा गरिएको प्रतियोगिता आयोजक अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले बताए ।

प्रमुख कार्यकारी शाहका अनुसार प्रतियोगिताका लागि रंगशालाको प्याराफिटको मर्मतसम्भार, रंगरोगन, विद्युतिकरणमा सुधार, सरसफाई लगायतका कामलाई तिव्रता दिइएको छ । 

बाँके जिल्ला फुटबल संघको सहकार्यमा अन्तरालले आयोजना गर्ने लुम्बिनी कप महिला फुटबल प्रतियोगितामा नेपाल र भारतका गरी आठ टीमको सहभागिता हुनेछ । 

लामो समयपछि रंगशालामा कुनै ठुलो प्रतियोगिता हुन लागेकोले स्थानीय फुटबल खेलाडीमा अत्यधिक उत्साह देखिएको एन्फा बाँकेका अध्यक्ष भोजराज शाहीले बताए । 

उनले आठौं राष्ट्रिय खेलकुदका लागि नेपालगञ्ज रंगशालामा करोडौं लगानी गरेर पूर्वाधार निर्माण गरिए पनि प्रतियोगिता र प्रशिक्षण नहुँदा पूर्वाधार जिर्ण बन्दै गएको बेला हुन लागेको प्रतियोगिताले खेल पूर्वाधारको प्रयोग पनि हुने बताए ।

प्रतिक्रिया