राप्तीसोनारी (बाँके) : बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर ६ स्थित सरस्वती माध्यमिक विद्यालय पनेरियाको २४औं वार्षिकोत्सव तथा विद्यालय सामाजिक परीक्षण सम्पन्न भएको छ । सरोकारवाला तथा अभिभावकहरूको उपस्थितिमा विहिबार आर्थिक वर्ष २०८०/०८१ को सामाजिक परीक्षण, अभिभावक भेला गरी विद्यालयको २४औं वार्षिकोत्सव मनाइएको हो ।
कार्यक्रमका प्रमुख अतिथि राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष तप्त बहादुर पौडेलले शिक्षाको गुणस्तरमा वृद्धि गर्न शिक्षक, अभिभावक र सरोकारवाला निकायको अहम् भूमिका हुने बताए । शिक्षामा थप स्रोत साधन आवश्यक भएको कुरा पनि औल्याउँँदै अध्यक्ष पौडेलले पालिकाले यस आर्थिक वर्षमा सुधारका केही योजनाहरू सञ्चालन गरिने बताए ।
कार्यक्रमका विशिष्ट अतिथि राप्तीसोनारी गाउँपालिका वडा नम्बर ६ वडा अध्यक्ष लवराज खरेलले शिक्षा नै समाज परिवर्तनको महत्वपूर्ण साधन भएकाले आफ्ना बालबालिकाको शिक्षामा ध्यान दिन आवश्यक रहेको बताए । त्यस अवसरमा विद्यालय व्यवस्थापन समितिका सदस्य वविता थापालाई उत्कृष्ट सदस्यका रूपमा, शिक्षक अभिभावक संघ सदस्य कालिदेवी बुढाथोकीलाई उत्कृष्ट सदस्य, उत्कृष्ट शिक्षक अन्जु आले मागर र उत्कृष्ट विद्यार्थी पूजा वलीलाई सम्मान गरिएको थियो ।
त्यसैगरी २०८१ को त्रैमासिक परीक्षा अन्तर्गत कक्षागत प्रथम, द्वितिय र तृतिय हुने विद्यार्थी र अतिरिक्त क्रियाकलापमा सहभागी विद्यार्थीहरुलाई समेत पुरस्कार प्रदान गरिएको थियो भने विद्यालयका शिक्षक तथा कर्मचारीहरुलाई प्रशंसापत्र समेत प्रदान गरिएको थियो ।
शिक्षक अभिभावक संघका अध्यक्ष तथा सामाजिक परीक्षण समितिका संयोजक लक्ष्मण थारुको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रधानाध्यापक महारुप जैशीले विद्यालय सामाजिक परीक्षण प्रतिवेदन तथा आर्थिक वर्ष २०८०/०८१ को कार्यप्रगति र आयव्ययको विवरण प्रस्तुत गरेका थिए ।
साथै आर्थिक वर्ष २०८१/०८२ मा विद्यालयको शैक्षिक, भौतिक, व्यवस्थापकीय पक्षमा अझै सुधार गर्दै लैजाने भावी योजना समेत अभिभावकहरु माझ प्रस्तुत गरिएको थियो ।
अभिभावकहरुको उल्लेख्य सहभागिता रहेको कार्यक्रममा विद्यार्थी भाइबहिनीहरुले आफ्नो प्रतिभा समेत देखाएका थिए । शिक्षक अर्जुन जीजङ्ग रेउले र उषा कुमारी थापाले कार्यक्रम सञ्चालन गरेका थिए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार