Listen LIVE

मौलिक भाषा संरक्षणमा जुट्यो खजुरा

नेपालगञ्ज : बाँकेको खजुरा गाउँपालिका मौलिक भाषा संरक्षणमा जोड दिएको छ । मौलिक भाषाको कम प्रयोगसंगै लोप हुन थालेकाले यसको संरक्षणमा पालिका जुटेको छ ।

मौलिक भाषा तथा कला संस्कृतिले समुदाय समुदायबीचको सम्बन्ध प्रगाढ बनाउनुका साथै सौहार्दपूर्ण समाजको निर्माण गर्छ । यसको संरक्षणका लागि अहिलेको पुस्तालाई आआफ्नो भाषा र कला संस्कृतिबारे जानकारी दिनुपर्ने खजुरा–३ का स्थानीय गणेश बहादुर थापा मागर बताउँछन् । ‘अहिले सबै समुदायले आफ्नो भाषा, संस्कृति बिर्सदैँ गएको पाईन्छ,’ थापा मगर भन्छन् , ‘स्थानीय सरकारले यस्ता कुराको संरक्षण गर्न जरुरी छ, यी कुरा लोप हुनु भनेको आआफ्नो समुदायको इतिहास सकिनु हो ।’

भाषा र संस्कृति समाजका समुदायसँग अन्र्तसम्बन्धित छन् । एक–अर्काको सांस्कृतिक पर्वमा सहभागि हुनु समुदायबीच दिगो सम्बन्ध निर्माणमा सहयोग गर्छ । भाषा संरक्षण गर्नुपर्ने भन्दै पालिकाले तालिम सञ्चालन गरेको थियो ।

आदिवासी जनजाति समुदायको मौलिक भाषाको संरक्षणका लागि पालिकाले प्रत्येक वडाका युवाहरुलाई सहभागि गराएर तालिम दिएको हो । आदिवासी जनजाति समुदायमा रहेको विभिन्न जातिहरु अनुसारको भाषाका बारेमा तालिम प्रदान गरेको थियो ।

‘खासमा आफ्नो मातृ भाषा के हो, कसरी बोलिन्छ, युवा पुस्तालाई यो कुराको जानकारी दिनु एकदमै राम्रो हो,’ स्थानीय हरि अधिकारी भन्छन् , ‘यसले आउने पुस्तालाई मेरो मौलिक भाषाको प्रयोगमा निरन्तरता दिन्छ ।’ सबै समुदायको कला संस्कृतिको जर्गेना गर्न आवश्यक रहेको अधिकारीको जोड छ ।

पालिकाले यो वर्ष प्रत्येक वडामा रहेका आदिवासी जनजाति समुदायका युवाहरुलाई उनीहरुको मौलिक भाषा तालिम संचालन गरेको र आउने वर्षदेखि यो कुरामा बिशेष कार्यक्रमहरु थपिने खजुरा गाउँपालिका अध्यक्ष डम्बर बिकले बताए ।

‘भाषा तथा संस्कृति संरक्षणका लागि यो पटक सञ्चालन गरिएको कार्यक्रम अपुग भएको जस्तो भयो,’ अध्यक्ष बिकले भने, ‘अर्को वर्ष धेरै व्यक्तिलाई सहभागि गराउने गरि कार्यक्रम ल्याउनपर्ने महसूस भएको छ ।’

मौलिक भाषा संरक्षण र प्रयोगले संस्कृति संरक्षणमा सहयोग पुग्ने खजुरा वडा नं–४ की स्थानीय योगमाया थापा मगरले बताइन् । ‘भाषाको प्रयोगले संस्कृतिको प्रचार–प्रसार हुन्छ,’ योगमायाले भनिन् , ‘भाषाको प्रयोगसँगै सांस्कृतिक कुराको ज्ञान बढाउँछ, संस्कृति संरक्षणतर्फ युवाहरुलाई प्रेरित गर्छ ।’

खजुराले भाषा संरक्षणका लागि थारु, गुरुङ्ग, तामाङ्ग, मगन्ता (माहाउत) जातिको मौलिक भाषाबारे तालिम चलाएको थियो । कार्यक्रमलाई प्रभावकारी बनाउन खजुराकै स्थानीय संस्था प्रंजली समृद्धि नेपालले त्यसको नेतृत्व गरेको थियो ।

प्रतिक्रिया