Listen LIVE

गड्डी भैँसी लोप हुने अवस्थामा

बैतडी : खरीरोग र बाँझोपनका कारण स्थानीय जातको गड्डी भैँसी लोप हुने अवस्थामा पुगेको छ । बाँझो भैँसी मासु प्रयोजनका लागि पहाडबाट तराई लैजाने क्रम बढेपछि भैँसीको सङ्ख्या घट्दै गएको हो । 

पशु सेवा विज्ञ केन्द्रका अनुसार आर्थिक वर्ष २०६९÷७० मा जिल्लामा ५८ हजार ३७० भैँसी थिए । स्थानीय तहको पुनर्संरचनापछि सो तथ्याङ्क अद्यावधिक हुन सकेको छैन । 

भैँसी खरिदबिक्री गर्नेले वार्षिक एक हजार पाँच सयभन्दा बढी बाँझो भैँसी मासु प्रयोजनका लागि तराईतिर लैजाने गरेको तथ्याङ्क भेटिएको छ । दुधालु गड्डी भैँसीको मूल्य ८० हजारदेखि एक लाख रुपैयाँसम्म भए पनि बाँझो भैँसी भने २०/३० हजारमा बिक्री हुने गरेको कृषकले बताएका हुन् । 

दुई दशकअघिसम्म यहाँको गड्डी भैँसीको घिउ नेपालका विभिन्न सहरदेखि भारतीय बजारसम्म पुग्ने गर्दथ्यो । अचेल बजारमा घिउ होइन, भैँसी नै पु–याउन थालिएको पशु सेवा विज्ञ केन्द्र पाटनका अधिकृत श्याम खड्काले बताए । 

भैँसी तस्करी रोक्न कार्यालयसँग कुनै संयन्त्र नभएको उनले बताए । “पशु सेवा विज्ञ केन्द्रमा तीन जना कर्मचारी छौँ,” उनले भने, “अनियन्त्रित तस्करी भएको देख्दा दुःख लागेको छ । स्थानीय तहले गाउँबाट हुने भैँसी तस्करी रोक्नु पर्छ ।” 

सो केन्द्रका प्रमुख डा. विशाल पाठकले खरी रोग र बाँझोपनका कारण स्थानीय जातको भैँसी लोप हुँदै गएको बताए । गत वर्षमा मेलौली नगरपालिका–२ र ३ मा खरीरोग लागेका ५० वटा भैँसीको उपचार गरिएको थियो । 

उनका अनुसार हाल जिल्लामा १९ हजार दुधालु भैँसी रहेका छन् । तीमध्ये अधिकांश भैँसी मुर्रा जातका छन् । निधारमा चन्द्रमा जस्तो आकारमा सेतो रौँ भएका गड्डी जातका भैँसी भने निकै कम रहेको उनले बताए । गड्डी जातका भैँसीको अग्लो चुर, ठुलो कल्चौडो र लामा थुन हुन्छन् ।

प्रतिक्रिया