Listen LIVE

लोपोन्मुख जातिलाई बाँकेमा तीन सय बाख्रा वितरण

नेपालगञ्ज : बाँकेका लोपोन्मुख तथा अति पिछडिएका विभिन्न जातजातिका समुदायलाई आर्थिक समृद्धिका लागि आयआर्जन गर्ने उद्देश्यले बाख्रा वितरण गरिएको छ । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र बाँकेद्वारा यहाँ आयोजना गरिएको एक कार्यक्रममा अति पिछडिएका नेपालगन्ज उपमहानगरपालिका र डुडुवा गाउँपालिकाका १०० परिवारलाई ३०० बाख्रा वितरण गरिएको हो । 

लुम्बिनी प्रदेश सरकारका कृषि मन्त्री भण्डारीलाल यादवले लोपोन्मुख जातिका रुपमा रहेका किंगरिया, कुछबधिया, मुसहर, नटवा र पासी जातिका विपन्न र पिछडिएका परिवारलाई प्रति परिवार तीन वटा बाख्रा गरेर सय परिवारलाई बाख्रा वितरण गरे । सो अवसरमा बोल्दै मन्त्री यादवले सरकारले प्रदेशमा रहेका लोपोन्मुख तथा अति विपन्न समुदायलाई माथि उकास्न उनीहरुको आय आर्जन वृद्धि गरेर आर्थिक रुपमा उनीहरुलाई सबल बनाउन यी बाख्रा वितरण गरिएको बताए । 

उनले बाख्रा पालन गरेर यसै माध्यमबाट बाख्राको संख्या बढाउँदै आयमा समेत वृद्धि गरेर अगाडी बढ्न लोपोन्मुख जातिका सर्वसाधारणलाई आग्रह गरे । आय आर्जनका लागि नेपालगञ्ज उपमहानगरको वडा नम्बर २० र २२ तथा डुडुवा गाउँपालिकाको वडा नम्बर ३, ५ र ६ मा हरेक वडाबाट २० परिवारको छनोट गरेर लक्षित समुदायका सय परिवारलाई ३०० वटा बाख्रा बितरण गरिएको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र बाँकेका प्रमुख कमला अधिकारीले बताए ।   

आय आर्जनका लागि बाख्रा पालन गर्ने उद्देश्यले बाख्रा लिन आएका अधिकांश अति पिछडिएका समुदायका नागरिकले मिहिनेतले बाख्रा पालन गरेर आयमा वृद्धि गर्ने प्रतिबद्धता जनाएको लुम्बिनी प्रदेशका कृषि मन्त्री यादवका स्वकीय सचिव राजेन्द्र विश्वकर्माले बताए ।

प्रतिक्रिया