रुकुमपश्चिम : रुकुम पश्चिममा मनसुनजन्य विपद्को कारण मृत्यु भएका र बेपत्ता भएका परिवारका आफन्तलाई राहत प्रदान गरिएको छ । जिल्ला प्रशासन कार्यालय रुकुमपश्चिमले पाँच जना मृतक तथा बेपत्ता व्यक्तिका नजिकका हकदारलाई नौ लाख रुपैयाँ राहत प्रदान गरेको हो ।
कार्यालयका सूचना अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारी विनोद रेग्मीका अनुसार विपद् पीडित उद्धार र राहत सम्बन्धी (सातौँ संशोधन) मापदण्ड, २०७७ बमोजिम राहत उपलब्ध गराइएको हो । पीडितको निवेदन तथा स्थानीय तहको सिफारिस पश्चात् राहत प्रदान गरिएको उनले जानकारी दिए ।
गत असार ३१ गते रातिको अविरल वर्षाको कारण आठबिसकोट नगरपालिका –१२ को झिन्चौरमा बाढीले टहरा बगाउँदा साउन १ गते बिहान तीन बालिकाको मृत्यु भएको थियो भने एक पुरुष बेपत्ता भएका थिए । सोही नगरपालिका –१२ निवासी ८ वर्षीया धनिषा पुन र १० वर्षीया हितमाया पुन र वडा नम्बर ९ निवासी ४ वर्षीय मनीषा सार्कीको टहरासँगै पुरिएर मृत्यु भएको थियो भने वडा नम्बर १२ निवासी ३७ वर्षीय डिल्लीबहादुर बुढाथोकी बेपत्ता भएका थिए । त्यसैगरी साउन ३ गतेका दिन वडा नम्बर १२ कै ५५ वर्षीय चन्द्र बहादुर पुनलाई बाढीले बगाउँदा मृत्यु भएको थियो ।
मृतक तथा बेपत्ताका नजिकका कानुनी हकदारलाई जिल्ला विपद् कोषबाट जनही २ लाखको दरले राहत उपलब्ध गराइएको हो । मृतक धनिषा र हितमाया एकाघरको भएकोले मापदण्ड अनुसार ३ लाख रुपैयाँ राहत दिएको हो भने अन्य सबैलाई दुई लाखको दरले राहत उपलब्ध गराइएको जिल्ला प्रशासन कार्यालय रुकुमपश्चिमले जनाएको छ ।
मृतक तथा बेपत्ताका कानुनी हकवालाको बैङ्क खातामा उक्त राहत रकम जम्मा गरिएको हो । मृतक मनीषाका बुवा लालबहादुर सार्कीले महिना दिनपछि राहत पाइएको बताए ।
उक्त घटनामा परेर विस्थापित भएका यहाँका २२ घर परिवार भने अझैसम्म काष्ठ उद्योग र कर्णाली वेभरेज ईन्डष्ट्रिज प्रालिको परिसरमा आश्रय लिएका छन् । उनीहरूले सुरक्षित आश्रयस्थल र राहत सामग्री व्यवस्थापन हुन नसकेको गुनासो गरेका छन् ।
पीडित परिवारहरूलाई आठबिसकोट नगरपालिकाले विभिन्न संघसस्थाको सहकार्यमा किरिया खर्च र खाद्यान्न सामग्री सहयोग गरेको थियो भने नेपाल रेडक्रस सोसाइटी रुकुमपश्चिमले त्रिपाल, कम्बल लगायतका सामग्री व्यवस्थापन गरेको थियो ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार