नेपालगञ्ज : उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासले आर्थिक वर्ष २०८०/०८१ को साउन महिनादेखि असार मसान्तसम्म दुई हजार ७०९ लगतमध्ये एक हजार ९३४ वटा मुद्दा फछ्र्याैट गरेर वार्षिक लक्ष्यको १०५ प्रतिशत प्रगति हासिल गरेको छ ।
उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासका रजिष्ट्रार सरोज निधि वाग्लेका अनुसार सो अवधिमा जिम्मेवारीतर्फ एक हजार ५४ र नयाँ दर्तातर्फ ८८० गरेर एक हजार ९३४ मुद्दा फछ्र्यौट गरिएको छ भने ७७५ मुद्दा बाँकी रहेका छन् । उनले उच्च अदालतले वार्षिक लक्ष्य अनुसार १०५ प्रतिशत मुद्दा फछ्र्यौट गरिएको बताए ।
उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासका मुख्य न्यायाधीश चन्द्रबहादुर सारुले अदालतले सन्तोषजनक रूपमा मुद्दा फछ्र्यौट गरेको जनाउँदै जनशक्ति, बजेट, प्रविधिको अभावका बाबजुद पनि न्याय दिने प्रयासमा धेरै सुधार गरिएको बताए ।
उनले यो उपलब्धि सामूहिक हातेमालोको नतिजा भएको जनाउँदै भविष्यमा पनि यसरी नै काम गर्नु पर्नेमा जोड दिए ।
उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासका न्यायाधीश एवं योजना तर्जुमा तथा कार्यान्वयन समितिका अध्यक्ष न्यायाधीश टङ्कप्रसाद गुरुङले लक्ष्य भन्दा बढी मुद्दा फछ्र्यौट गर्नु उपलब्धि भएको बताए ।
उच्च अदालत बार एसोसिएसन नेपालगन्जका अध्यक्ष चित्रबहादुर शाहीले आर्थिक वर्ष २०८०/०८१ मा उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासले राम्रो प्रगति गरेकोले धेरैले समयमै न्याय पाएको बताए ।
यसैगरी आर्थिक वर्ष २०८०/०८१ मा बाँके जिल्ला अदालतले ८२ प्रतिशत र बर्दिया जिल्ला अदालतले ९५ प्रतिशत मुद्दा फछ्र्यौट गरेको हो ।
सार्वजनिक गरिएको सो तथ्याङ्क अनुसार बाँके जिल्ला अदालतमा दर्ता भएका लगत सात हजार ६४७ मध्ये चार हजार २१५ मुद्दा फछ्र्यौट गरिएको छ भने तीन हजार ४३२ मुद्दा अझै बाँकी रहेका छन् । यस्तै बर्दिया जिल्ला अदालतमा दुई हजार ११३ मध्ये एक हजार ३१० मुद्दा फछ्र्याैट गरिएको र बाँकी मुद्दा ८०३ रहेको जनाइएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार