नेपालगञ्ज : नेपालगञ्ज न्यूरोडमा रहेको एसक्युज मी फेशन वेयरमा भएको आगलागीको बाँके प्रहरीले अनुसन्धान थालेको छ । पसलमा भएको आगलागी रहस्यमय लागेपछि बाँके प्रहरी आफ्नो अनुसन्धान अगाडी बढाएको जनाएको छ ।
२०८१ साउन २ गते राती नेपालगञ्ज न्यूरोडमा रहेको एसक्युज मी फेशन वेयरमा आगलागी भएको थियो । आगलागीबाट सबै मालसामान जलेर करोडको क्षति हुन पुगेको छ । एसक्युज मी फेशन वेयर विद्युत सर्किट भइ आगलागी भएर पूर्णरुपमा क्षति भएको भन्दै पौने एक करोड वीमा दावीका लागि २०८१ साउन ३ गते सानिमा जिआइसी इन्स्योरेन्स लिमिटेड वीमा कम्पनीमा निवेदन दिएका थिए ।
सानिमा जिआइसी इन्स्योरेन्स लिमिटेडले दिएको जानकारी अनुसार, आगलागी पश्चात् गरिएको प्रारम्भिक अनुसन्धानमै भवितव्य आगलागी नभइ आफैले आगो लगाए जस्तो विभिन्न तथ्य प्रमाणहरुबाट देखाएपछि प्रहरीसँगको सहकार्यमा अनुसन्धान अगाडी बढेको हो ।
उक्त इन्स्योरेन्सका एक अधिकृतले आगलागी बारे कुरा गर्दै भने ‘थुप्रै यस्ता कुराहरु छन् जुन आफै लागे जस्तो नै देखिँदैन वीमा रकम पाउन लगाए जस्तो देखिन्छ । भवितव्य दुर्घटनालाई त इन्स्योरेन्सले वीमा दावी रकम नदिने कुरा नै हुँदैन नि । कुनै कोणबाटपनि आफै आगो लागेको जस्तो देखिँदैन । हामीले पनि अनुसन्धान गरिरहेका छौं ।’
इन्स्योरेन्सले आगलागी रहस्यमय र शंकास्पद रहेको जनाएको छ । सानिमा जिआइसी इन्स्योरेन्सले जिल्ला प्रहरी कार्यालय बाँकेमा पत्र पठाइ आगलागीको अनुसन्धान गरिदिन अग्रह गरेको छ । जिप्रकामा दर्ता भएको पत्रमा कम्पनीबाट उक्त वीमा दावीको क्षति निर्धारण तथा मूल्यांकन गर्न खटिएका सर्भेयरले आगलागी सम्बन्धमा अध्ययन गर्दा सो दुर्घटना रहस्यमय हुनुका साथै शंकास्पद समेत देखिएकोले आवश्यक छानविन तथा अनुसन्धान गरिदिन अनुरोध गरिएको उल्लेख छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डिएसपी नारायण डाँगीले एसक्युज मी पसलमा भएको आगलागीबारे सुक्ष्म तरिकाले अनुसन्धान भइरहेको जानकारी दिए । डिएसपी डाँगी भने ‘उक्त आगलागी बारे हरेक कोणबाट अनुसन्धान गरिरहेका छौं, यदि गलत बाटोबाट कसैले लाभ आर्जन गर्न खोज्छ भने त्यो उम्कन पाउने छैन ।’
आगलागी शंकाको घेरामा पर्नुका कारण सिसि टिभी भिडियोमा रातीको १२ बजेर १५ मिनेट ३० सेकेण्डमा २ जना व्यक्ति गोविन्दको एसक्युज मी फेशन वेयर भित्र प्रवेश गरेको देखिन्छ । प्रवेश गरेको १२ मिनेटपछि अर्थात १२ बजेर २७ मिनेटमा १ जना व्यक्ति हातमा झोला समातेर बाहिर निस्कन्छन् र जान्छन् । ती व्यक्ति निस्केको १ मिनेट ३० सेकेण्ड अर्थात १२ बजेर २८ मिनेट ३० सेकेण्डमा फेरी २ जना व्यक्ति पसलबाट बाहिर निस्केर फरक–फरक दिशा तर्फ जान्छन् । अनि १२ बजेर ३२ मिनेट १३ सेकेण्डमा आगलागी भएको धुँवा बाहिर निस्किएको देखिन्छ । अर्थात ती २ जना व्यक्ति बाहिर निस्किएको ३ मिनेट ४३ सेकेण्डपछि पसलमा आगलागी भएको धुँवा बाहिर निस्कन्छ ।
यी लगायत थुप्रै प्रमाणहरुले आगलागी शंकास्पद र रहस्यमय रहेको इन्स्योरेन्सले जनाएको छ । पसल सञ्चालक गाविन्दले आफु ८ बजे नै घर गएको बताएका छन् । वीमाका कागजात अनुसार, सानिमा जिआइसी इन्स्योरेन्स लिमा एसक्युज मी फेशन वेयरको २०८० कार्तिक ३ गते ३३ लाखको वीमा गरिएकोमा सञ्चालक गोविन्दले फेरी २०८१ जेठ १७ गते ४२ लाखको वीमा थपेका थिए । वीमा अवधि सकिन २ महिना बाँकी रहँदा एसक्युज मी फेशन वेयरमा आगलागी हुन पुगेको हो ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार