Listen LIVE

विश्व मृगौला दिवसका अवसरमा नेपालगञ्जमा प्रभातफेरी

नेपालगञ्ज : नेपालगञ्ज उपमहानगर स्वास्थ्य महाशाखाको आयोजनामा विश्व मृगौला दिवस बिहीवार सचेतनामुलक प्रभातफेरी निकालेर मनाइएको छ ।

नेपालगञ्ज उपमहानगरपालिका परिसरबाट शुरु भएको प्रभातफेरी औद्योगिक क्षेत्र हुँदै पुनः उपमहानगरपालिकामा पुगेर समापन भएको थियो ।

भेरी अस्पतालका मिर्गौला रोग विशेषज्ञ डा. सौरभंिसह हमालले मिर्गौला रोगको जोखिम कम गर्न आफैं सचेत हुनुपर्ने बताउँदै नियमित चेकजाँच गर्ने, जीवनशैली खानपानलगायतमा सुधार ल्याउन सकेमात्र यसबाट जोगिन सक्ने सुझाव दिए ।

उनले अस्पतालमा दैनिकरुपमा १५–२० जना मृगौलाका विरामी आउने गरेको बताए । नियमित जाँच तथा खानपान र आहार विहारमा ध्यान दिएमात्र पनि मृगौला सुरक्षित हुने डा. हमालको भनाई छ ।

नेपालगञ्ज उपमहानगर स्वास्थ्य महाशाखाका जनस्वास्थ्य अधिकृत जागेश्वर बस्नेतले उपमहानगरको स्वास्थ्य शाखामा दैनिक जसो २–३ जना मुटु, मृगौला तथा क्यान्सर उपचारको लागि सिफारिस लिन आउने गरेको जानकारी दिए ।

समुदायमा नसर्ने रोगको जोखिम बढिरहेको बेला सचेतनाका लागि विभिन्न दिवस मनाउने क्रममा विश्व मृगौला दिवस मनाईएको उनले बताए ।

प्रतिक्रिया