Listen LIVE

खजुराको वडा नं. ४ ले पायो आफ्नै भवन

नेपालगञ्ज : भाडाको घरबाट सेवा दिँदै आएको बाँकेको खजुरा गाउँपालिका वडा नम्बर–४ को वडा कार्यालयले आफ्नै नयाँ भवन पाएको छ । खजुरा गाउँपालिका– ४ ई गाउँमा वडाको नयाँ भवन बनेसँगै भाडाको घरबाट वडा कार्यालय ई गाउँ स्थित आफ्नै भवनमा सरेको छ । 

नवनिर्मित भवनको खजुरा गाउँपालिका अध्यक्ष डम्बर बहादुर विक ‘तुफान’ र उपाध्यक्ष मञ्जु मल्लले संयुक्तरुपमा भवनको उदघाटन गरेका छन् । भवनको उदघाटन कार्यक्रममा बोल्दै अध्यक्ष तुफानले वडा कार्यालय व्यवस्थित भएसँगै वडा तहको कार्य सम्पादन पनि व्यवस्थित हुने विश्वास ब्यक्त गरे । उनले नवनिर्मित वडा कार्यालयको भवनबाट सेवाग्राहीले सहज रुपमा सेवा प्राप्त गर्ने र भवनको पूर्ण सदुपयोग हुने अपेक्षा गरे । ‘हामीले चुनावमा गरेको एउटा महत्वपूर्ण प्रतिबद्धता पुरा गरेका छौ । चुनावको बेला वडा नम्बर–४ को वडा भवन बनाउँछु भनेर प्रतिबद्धता गरेका थियौं, आज पूरा भयो ।’ अध्यक्ष विकले भने । 

खजुरा गाउँपालिका उपाध्यक्ष मल्लले वडा कार्यालय भवन निर्माणसँगै नागरिकले सहज रूपमा सेवा पाउने दाबी गरिन् । उनले व्यवस्थित वडा कार्यालय भवन निर्माण भएको उल्लेख गर्दै कर्मचारी र सेवाग्राही सबैलाई सहजसँगै सेवा प्रभावकारी बन्ने र स्थानीय तहबाटै व्यवस्थीत सेवा प्रवाहमा सहज हुने विश्वास ब्यक्त गरिन् । 

वडा नम्बर–४ का वडाध्यक्ष टेक बहादुर रोकायले वडा कार्यालय भवन निर्माणका लागि सहयोग र समन्वय गर्ने सबैलाई धन्यवाद दिए । भवन उदघाटन कार्यक्रममा खजुरा गाउँपालिका प्रमुख प्रशासकीय बस बहादुर राना, वडा नम्बर–२ का वडा अध्यक्ष धनराम ओली, विभिन्न राजनीतिक दलका प्रतिनिधि, स्थानीय नागरिक लगाएतको सहभागिता रहेको थियोे ।

प्रतिक्रिया