नेपालगञ्ज : भेरी अस्पतालमा करिब दुई वर्षदेखि बिग्रिएर थन्किएको सिटी स्क्यान मेसिन मर्मतसम्भारपछि पुनः सञ्चालनमा आएको छ ।
लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हजारौँ विपन्न तथा गरिब बिरामीको उपचारको प्रमुख केन्द्र रहेको अस्पतालमा लामो समयदेखि अवरुद्ध सिटी स्क्यान सेवा पुनः सञ्चालनमा आएपछि बिरामीलाई राहत मिल्ने अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. नवीन दर्नालले बताए ।
उनका अनुसार प्राविधिक समस्याका कारण लामो समय सेवा बन्द हुँदा दुर्घटना तथा चोटपटक लागेका बिरामीले महँगो शुल्क तिरेर निजी स्वास्थ्य संस्थामा सिटी स्क्यान गराउनुपर्ने बाध्यता थियो । अब अस्पतालमै सस्तो र सुलभ दरमा सेवा उपलब्ध भएको उनले बताए ।
अस्पतालमा बन्द रहेका विभिन्न सेवाको पुनः सञ्चालन, अपुग जनशक्तिको व्यवस्थापन, आवश्यक उपकरण थप तथा पूर्वाधार सुदृढीकरणलाई प्राथमिकतामा राखेर काम भइरहेको डा. दर्नालले जानकारी दिए ।
उनले भने, æअस्पतालमा लामो समयदेखि बन्द रहेको सिटी स्क्यान सेवालाई मर्मतसम्भार गरेर सञ्चालनमा ल्याइएको छ । यस्तै अन्य सेवाहरूलाई पनि छिट्टै चुस्त र दुरुस्त बनाउने योजना छ ।Æ
भेरी अस्पताल विकास समितिका कार्यवाहक अध्यक्ष डा. डक्टप्रसाद धितालले सिटी स्क्यान सेवा पुनः सञ्चालन भएपछि बाँके, बर्दिया, सुर्खेत, दाङलगायत लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका विभिन्न जिल्लाबाट आउने बिरामीले सहज रूपमा सेवा पाउने बताए ।
उनले यसबाट आर्थिकरूपमा कमजोर बिरामीलाई विशेष सहयोग पुग्ने अपेक्षा गरिएको बताए ।
अस्पतालको समग्र सेवा विस्तार र सुदृढीकरणका लागि सङ्घीय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग आवश्यक जनशक्ति तथा स्रोतसाधन माग गरिएको अस्पताल विकास समितिले जनाएको छ ।
अस्पतालका सेवा नियमित र गुणस्तरीय बनाउन विभिन्न कदम चालिएको जनाउँदै आवश्यक प्राविधिक व्यवस्थापनलाई अझ सुदृढ गर्नुपर्नेमा समितिले जोड दिएको छ ।
काठमाडौँको वीर अस्पतालसँगै स्थापना भएको १३६ वर्ष पुरानो भेरी अस्पताल पश्चिम नेपालका विपन्न तथा आर्थिक अवस्था कमजोर भएका बिरामीको प्रमुख भरोसाको केन्द्रका रूपमा रहेको छ ।
अस्पताल विकास समितिका पूर्वसदस्य तथा नागरिक सरोकार मञ्च बाँकेका संयोजक कृष्णप्रसाद श्रेष्ठले अस्पतालका सेवा प्रभावकारी बनाउन आवश्यक जनशक्ति व्यवस्थापन, स्वास्थ्य उपकरणको नियमित मर्मतसम्भार र अनुगमनलाई प्राथमिकता दिनुपर्ने सुझाव दिए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार