Listen LIVE

पोखरा, बेलबारी र चितवनमा अन्तर्राष्ट्रिय नाट्य महोत्सव सुरु

काठमाण्डौ : पोखरा, चितवन र बेलबारीमा पनि नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव (निटफेस्ट) सुरु भएको छ । शनिबारदेखि पोखरामा, आइतबारदेखि चितवन र बेलबारीमा निटफेस्ट सुरु भएको हो ।

काठमाडौंमा जारी महोत्सवकै समानान्तर कार्यक्रमको रुपमा ३ सहरलाई लिइएको महोत्सव संयोजक केदार श्रेष्ठले बताए । पोखराको गैह्रपाटनस्थित गन्धर्व थिएटरमा सुरु महोत्सव चैत १३ गतेसम्म चल्नेछ । पोखरा महानगरप्रमुख धनराज आचार्यले महोत्सव उदघाटन गरे ।

पोखरा थिएटर आयोजक रहेको महोत्सवमा ५ देशका ६ नाटक मञ्चन हुनेछन् । नेपाललगायत चीन, जापान, ट्युनिसिया र नर्वेको संयुक्त प्रस्तुतिमा तयार भएका नाटक मंचनसहित फेस्टिभलमा सांस्कृतिक झाँकी, सांस्कृतिक परेड, कार्यशाला र अन्तक्रिया गतिविधिसमेत समेटिनेछ ।

महोत्सवमा निटफेस्ट काठमाडौंमा प्रदर्शन हुने केही विदेशी नाटक पनि पोखरा अन्तर्राष्ट्रिय नाट्य महोत्सवमा पनि मञ्चन हुनेछन् । संयोजक केदार श्रेष्ठले भने, निटफेस्टले काठमाडौंबाहिरका रंगकर्मीसँग सहकार्य गरी समानान्तर महोत्सव गर्ने अभ्यास निटफेस्टको पहिलो संस्करणदेखि नै सुरु गरेको थियो ।’

बेलबारी अन्तर्राष्ट्रिय नाट्य महोत्सवको उद्घाटन कोशी प्रदेश सांसद ज्ञानेन्द्र सुवेदीले गरे । चितवन अन्तर्राष्ट्रिय नाट्य महोत्सव’को उदघाटन चाहिँ भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारी र कलाकार विजय बरालले गरे ।

तीन दिनसम्म चल्ने यी महोत्सवमा पनि नेपाली र विदेशी नाटक मञ्चन हुनेछन् । बेलबारीमा नेपाल, भारत र जापान तीन देशका ६ नाटकसँगै स्थानीय र विद्यार्थी समूहका नाटक पनि मञ्चन हुने महोत्सव निर्देशक विकास बुढाथोकीले जानकारी दिए ।

चितवनमा नेपाल, भारत, जापान, इरान र लिथुवानीयाका नाटक गरी ५ विदेशी नाटक मञ्चन हुनेछन् । चितवनमा पनि आयोजक संस्था र स्थानीय नाट्य संस्थाका नाटक मञ्चन हुने महोत्सव निर्देशक प्रदीप अन्जानले बताए ।

दुवै महोत्सवमा चित्रकला, कविता, सांस्कृतिक प्रदर्शनी र अन्तक्र्रियात्मक छलफल पनि समेटिएको छ । बेलबारी महोत्सव बेलबारी प्रज्ञा प्रतिष्ठानले गरेको हो । चितवन महोत्सव तीन संस्था कर्मी चौतारी, नारायणी कला मन्दिर र तरंग नाट्य समूहले एकसाथ गरेका हुन् ।

बेलबारी अन्तर्राष्ट्रिय नाट्य महोत्सवका कार्यक्रमहरु तमु बुद्धिष्ठ गुम्बा, बेलबारी १ मा आयोजना हुँदैछ । प्रथम चितवन अन्तर्राष्ट्रिय नाट्य महोत्सवका सम्पूर्ण गतिविधि नारायणी कला मन्दिर परिसमा हुनेछन् ।

काठमाडौंमा जारी निटफेस्टको आइतबार पाँचौ दिन हा । मण्डला थिएटरमा जारी महोत्सवमा मध्यान्ह जापानको ‘मास्टर शोको एन्ड मार्गरिटा’, भारतको ‘तमासा’, प्लेब्याक थिएटर विस्डम अफ लाइफ, आउटडोर पर्फमेन्सहरु साउन्ड्स अफ मन्डल र म्याक अफ म्याजिक मञ्चन हुँदैछन् ।

हरेक दिन छलफल कार्यक्रमसमेत हुँदै आएको महोत्सवमा अपरान्ह ‘राजनीतिमा कलानीति’ शीर्षकमा छलफल पनि हुनेछ । विभिन्न दलका नेताहरू सुदन किराँती, रामकुमारी झाँक्री, ठाकुर गैरे र प्रतिमा गौतम वक्ता रहेको अन्तक्र्रिया स्वतन्त्र पत्रकार प्रभाकर गौतमले सञ्चालन गर्नेछन् ।

महोत्सवको हरेक दिनको समापन सन्ध्याकालीन संगीत, नृत्य वा कविताबाट हुँदै आएको छ । मण्डला थिएटरको आयोजनामा बुधबारदेखि राजधानीमा सुरु भएको निटफेस्ट चैत १२ सम्म चल्नेछ ।

प्रतिक्रिया