बर्दिया : बर्दिया अस्पतालमा डायलासिस मेसिन र जनशक्तिको अभावका कारण मिर्गौलारोगीले समयमा सेवा पाउन सकेका छैनन् । क्षमताभन्दा बढी बिरामी भएपछि हाल धेरै बिरामी डायलासिस सेवाको पर्खाइ सूचीमा रहेका छन् । अस्पतालमा २०८१ वैशाखदेखि डायलासिस सेवा सञ्चालनमा आएको हो ।
हाल अस्पतालमा छ वटा डायलासिस मेसिन रहे पनि एउटा आकस्मिक सेवाका लागि छुट्याइएकाले पाँच वटा मेसिनबाट नियमित सेवा सञ्चालन भइरहेको छ । ती मेसिनबाट दैनिक १० देखि १२ सत्र सञ्चालन गरिँदै आएको छ भने ३४ जना बिरामीले नियमित डायलासिस सेवा लिइरहेका छन् ।
मेसिनको अभावका कारण नयाँ बिरामीले लामो समय पालो कुर्नुपर्ने अवस्था रहेको अस्पतालले जनाएको छ । पालो नपाएका कतिपय बिरामी आकस्मिक सेवाका लागि निजी अस्पतालमा महँगो शुल्क तिर्न बाध्य छन् भने केही बिरामी नेपालगन्ज, कोहलपुर र काठमाडौँसम्म पुगेर डायलासिस गराइरहेका छन् ।
गुलरिया नगरपालिकाका ओमप्रकाश यादवले सरकारले डायलासिस सेवा निःशुल्क उपलब्ध गराए पनि पालो नपाउँदा निजी अस्पतालमा खर्च गरेर आकस्मिक सेवा लिनुपर्ने बाध्यता रहेको बताए । बढैयाताल गाउँपालिका–६ की रूपा थारूले पनि समयमै पालो नपाउँदा पटक पटक नेपालगन्ज पुगेर महँगो शुल्कमा डायलासिस गराउनु परेको गुनासो गरिन् ।
अस्पताल अन्तर्गतको डायलासिस विभागका इन्चार्ज सपना बाठामगरका अनुसार मेसिन र दक्ष जनशक्तिको अभावका कारण पर्खाइमा रहेका सबै बिरामीलाई सेवा दिन सम्भव भएको छैन । आवश्यक उपकरण र जनशक्ति थप भए सेवा विस्तार गर्न सकिने उनले बताइन् । अस्पतालको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८२/८३ मा ५५ जना मिर्गौलारोगीले दुई हजार ८८६ सत्र डायलासिस सेवा लिएका छन् भने ४७ जनाले आकस्मिक डायलासिस सेवा लिएका थिए । अघिल्लो आव २०८१/८२ मा ४६ बिरामीले दुई हजार १३ सत्र डायलासिस सेवा लिएका थिए ।
अस्पताल प्रमुख डा. पाण्डेले हालको चापलाई व्यवस्थापन गर्न कम्तीमा दुई वटा थप डायलासिस मेसिन आवश्यक रहेको बताए । उनका अनुसार तेस्रो सिफ्ट सञ्चालन गर्न सकिने सम्भावना भए पनि आवश्यक जनशक्ति नहुँदा सेवा विस्तार गर्न नसकिएको हो । बर्दिया अस्पतालमा डायलासिस सेवा सुरु भएपछि जिल्लाबाहिर उपचारका लागि जानुपर्ने अवस्था धेरै हदसम्म घटेको भए पनि उपकरण र जनशक्ति अभावका कारण अझै धेरै बिरामी समयमै सेवा पाउनबाट वञ्चित भइरहेका छन् ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार