Listen LIVE

जाजरकोटका शिक्षक नेपालगञ्जबाट सम्पर्कविहीन

नेपालगञ्ज : जाजरकोटको कुसे गाउँपालिका–७ धनराशि गाउँका ३८ वर्षीय शिक्षक धनबहादुर शाही दुई सातादेखि नेपालगञ्जबाट सम्पर्कविहीन भएका छन् । शाही कुसे–७ स्थित जनता माध्यमिक विद्यालयमा अनुदान कोटामा कार्यरत नेपाली शिक्षक हुन् । 

उनी गत साउन १४ गते घरबाट नेपालगञ्ज आएका थिए । साउन २५ गते नेपालगञ्ज बसपार्क गेटनजिक रहेको मिना दैलेखी होटलबाट बेलुका ४ बजे बाहिरिएपछि सम्पर्कमा नआएको घरबाट सँगै नेपालगञ्ज आएका शाहीका ज्वाइँ गोपी सिंहले जानकारी दिए। 

सिंहले भने, ‘२५ गते दिनभर कोठामा सुतेर बेलुका ४ बजे बाहिर निस्केपछि उहाँ फर्कनुभएको छैन।’

शाही नभेटिएपछि जिल्ला प्रहरी कार्यालय बाँकेमा खोजीका लागि निवेदन दिएको जनाउँदै शाहीका पिता हंसबहादुर शाहीले नेपालगञ्जमा बसेर खोजी गर्दा होटलमा बास बस्न पैसा अभाव भएपछि जाजरकोट नै फर्किएको टेलिफोनमा बताए। 

उनले भने, ‘नेपालगञ्ज पुगेर जताततै खोजियो तर, छोरालाई भेट्टाउन सकिएन। फोन पनि बन्द छ। खाना खाएको १६ हजार नौ सय रुपियाँ पुगेपछि पछि तिरौँला भनेर फर्कियौँ।’

शाही बसेको नेपालगञ्ज बसपार्कस्थित होटल मिना दैलेखीका सञ्चालक मिना सुनारले गत साउन १७ गते आफ्नो होटलमा पुगेका दुवै जना दश दिन जति बसेको बताइन् ।

खोजीका लागि परेको निवेदन अनुसार खोज गरिए पनि शाहीको बारेमा कुनै जानकारी प्राप्त नभएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

प्रतिक्रिया