नेपालगञ्ज : अन्तराष्ट्रिय आमन्त्रण लुम्बिनी कपको उपाधी एपीएफ क्लब र नेपाल पुलिस क्लब दुबै टिमले जित्ने दाबी गरेका छन् । नेपालगञ्जमा आज पत्रकारहरुसंग कुराकानी गर्दै एपीएफ क्लबका कोच भगवती थापाले आफूहरुलाई खेल जित्नै पर्ने दबाब रहेको बताएकी छन् । उनले प्रतिस्पर्धीलाई कमजोर ठान्न नहुने बताउँदै नतिजा आफूहरुले जित्ने दाबी गरेकी हुन् ।
यस्तै क्याप्टेन अनिता बस्नेतले खेल रोमाञ्चक हुने बताउँदै आफूहरु जित्नको लागि खेल्न लागेको प्रतिक्रिया दिएकी छन् । नेपालगञ्जमा भएको यो प्रतियोगिताले महिला खेलाडीलाई मात्र नभई समग्र खेलप्रेमीहरुलाई हौसला जगाएको उनले बताएकी छन् ।
यस्तै नेपाल पुलिस क्लबका कोच सुमन सुवेदीले खेल जित्नका लागि रणनीति बनाएर अगाडी बढ्ने उदघोष गरेका छन् । खेल जित्नका लागि तपाईहरुलाई चुनौती देखिएकै हो त भन्ने पत्रकारको प्रश्नको जवाफ दिँदै सुवेदीले भने ,“फुटबलमा नजिता जस्तो पनि आउन सक्छ । राम्रो भनेको टिमले पनि कहिलेकाही नराम्रो खेल्न सक्छन् । अनि नराम्रो भनेको टिमले राम्रो पनि खेल्न सक्छ ।” उनले भोलीको खेलमा राम्रो प्रस्तुति दिने बताएका छन् ।
यस्तै क्याप्टेन निरु थापाले घरेलु मैदानमा आएर फाइनल खेल खेल्ने सपना पुरा भएजस्तै खेल जित्ने सपना पनि पुरा हुने बताएकी छन् । फुटबल खेलमा महिला खेलाडीहरुको सहभागिता बढाउनका लागि नियमित तालिम तथा आवश्यक पर्ने ब्यबस्थापकिय कामहरु गर्नुपर्ने सुझाव दिएकी छन् । निरन्तर खेल हुन सकेमा यस्ता प्रतियोगिताहरुको उचाई बढ्ने र उपलब्धी हासिल हुने प्रतिक्रिया दिएकी छन् ।
आजको कार्यक्रममा म्याच कमिसनर प्रदेश सिंह राठौर, म्याच कोर्डिनेटर कमल खत्री, अन्तरालका कार्यकारी जयनारायण शाह, एन्फा बाँकेका अध्यक्ष भोजराज शाही, मिडिया संयोजक निरज गौतम, प्रचार प्रसार समितिका संयोजक तेजबिक्रम शाह ,नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नविन गिरी, पुर्व अध्यक्ष झलक गैेरे र एशियाली खेलकुद पत्रकार महासंघका कोषाध्यक्ष एवं नेपाल खेलकुद पत्रकार मञ्चका पुर्व अध्यक्ष तथा विविसी संवाददाता निरन्जन राजवंशी लगायत विभिन्न मिडियामा कार्यरत सञ्चारकर्मी, खेलप्रेमी तथा अभियन्ता र आयोजक टिमको सहभागिता रहेको थियो ।
कार्यक्रममा भोलीको फाइनल खेलका प्रतिस्पर्धी दुबै टिमका कोच र क्याप्टेनको सामुहिक तस्विर कैद गरिएको थियो । तस्विर कैद गरिरहँदा टिमका कोच र क्याप्टेनहरुमा गम्भिरता र भोलीका लागि तिब्र चिन्तनशिलता रहेको प्रष्ट देखिन्थ्यो ।
भोली हुने फाइनल खेलको प्रतिस्पर्धी एपीएफ क्लबले कर्णालीलार्ई ६—० गोल अन्तरले र रौतहटलाई ३ —० ले हराउदै फाइनल यात्रा तय गरेको हो । यसैगरी नेपाल पुलिस क्लबले भारतीय टीम सिलुगुडीलाई ४—० ले र भिभुवन आर्मीलाई सडन डेथमा हराएर फाइनल यात्रा तय गरेको हो ।
एपीएफ क्लब र नेपाल पुलिस क्लब बिच भोली हुने फाइनल खेल दिउसो ३ बजे सुरु हुने मिडिया संयोजक निरज गौतमले जानकारी दिएका छन् । अन्तरालको आयोजना तथा जिल्ला फुटबल संघको सहकार्यमा जारी प्रतियोगितामा नेपाल र भारतका गरेर ८ वटा टिम सहभागि भएर प्रतिस्पर्धा गरेका हुन् । प्रतियोगितामा घरेलु टिम बाँके–११, सशस्त्र प्रहरी बलको एपीएफ, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, कर्णाली एफसी, सुदूरपश्चिम एफसी, सिलिगुडी फुटबल क्लब र रौतहट जिल्ला फुटबल संघ टिम सहभागी भए ।
प्रतियोगिताको विजेता टिमले ५ लाख ५ हजार ५ सय ५५ रुपैयाँ र उपविजेता टिमले २ लाख ५० हजार रुपैयाँ, ट्रफी, मेडल र पुरस्कार प्राप्त गर्ने आयोजक अन्तरालले जनाएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार