Listen LIVE

अभिमुखीकरणसँगै पत्रकारहरुको स्वास्थ्य जाँच

नेपालगञ्ज : स्वास्थ्य कार्यालय बाँकेले नसर्ने रोगहरुबारे पत्रकारहरुसँग अभिमुखीकरण गरेको छ । जिल्लाका करीब तीन दर्जन पत्रकारलाई आज नेपालगञ्जमा बोलाएर अभिमुखीकरण गरिएको स्वास्थ्य कार्यालय बाँकेका जनस्वास्थ्य अधिकृत नरेश श्रेष्ठले जानकारी दिए । 

स्वास्थ्य मन्त्रालयले फागुन महिनालाई नसर्ने रोगविरुद्धको सचेतीकरण अभियानका रुपमा मनाउन निर्देशन गरेसँगै जिल्लामा नसर्ने रोगको पहिचान र निदानका सवालमा कामहरु भइरहेका छन् । 

स्वास्थ्य कार्यालय बाँकेका प्रमुख सुनिता पौडेलले नसर्ने रोग भयावह बन्दै गइरहेकाले सचेतना फैलाउन संचारकर्मीहरुलाई आग्रह गरिन् । उनले नियमित स्वास्थ्य चेकजाँच र खानपानमा विशेष सावधानी अपनाउन आग्रह गरिन् । नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीले सञ्चारकर्ममार्फत नसर्ने रोगबारे समुदायस्तरमा सचेतना फैलाउनुपर्नेमा जोड दिए । 

जनस्वास्थ्य अधिकृत श्रेष्ठले नसर्ने रोगको अवस्था, नसर्ने रोगको प्रभावबाट जोगिन अपनाउनुपर्ने सावधानी लगायतका बारेमा आफ्नो कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा उपस्थित पत्रकारहरुको स्वास्थ्य जाँच समेत गरिएको थियो ।

प्रतिक्रिया