Listen LIVE

उन्नत बाख्रा पालनमा हुम्लाका किसान आकर्षित

हुम्ला : हिमाली जिल्ला हुम्लाका किसान उन्नत (खरी जाति) जातका बाख्रा पालनमा आकर्षित भएका छन् । स्थानीय बाख्राभन्दा उन्नत जातका बाख्रा पालनबाट बढी फाइदा हुने भएपछि किसानहरू संस्थागत र व्यक्तिगत रूपमा उन्नत बाख्रा खरिद गर्न थालेका हुन् ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालयका प्रमुख कृष्णबहादुर रोकायाले पछिल्लो दुई वर्षयता उन्नत जातका बाख्रा पाल्ने किसानको सङ्ख्या वृद्धि भएको बताए । उनले आफ्नो कार्यालयबाट मात्र किसानको माग अनुसार अनुदानमा बाख्रा सहयोग गरिएको जानकारी दिए ।

गाउँपालिका अनुसार चङ्खेली गाउँपालिका १ मा १३३ वटा, सर्केगार्ड गाउँपालिका– २ मा ३३, अदानचुली गाउँपालिका– १ र २ मा क्रमशः ३० र ३९ तथा ताँजाकोट गाउँपालिका– १ मा ३९ गरी २८३ उन्नत बाख्रा सहयोग गरिएको हो ।

प्रमुख रोकायाले यसअघि स्थानीय बाख्रा मात्र पालन हुने गरेकोमा त्यसबाट खासै फाइदा नदेखेपछि उन्नत बाख्रा पालनतर्फ किसान लागेको बताए । उनले स्थानीय बाख्रा वर्षमा एक पटक मात्र ब्याउने तर उन्नत जातका बाख्रा राम्रोसँग पालन पोषण गर्न सके दुई वर्षमा तीन पटक पनि ब्याउने भएका कारण फाइदा देखेपछि किसानको आकर्षण बढेको बताए ।

यसअघि कार्यालय र अन्य पशु विकासका क्षेत्रमा काम गर्दै आएको निकायहरूले स्थानीय बाख्रा मात्र खरिद गरेर दिने गर्दै आएकोमा हाल किसानबाटै उन्नत जातको बाख्राको माग आउन थालेपछि यी बाख्रा पाल्नेको सङ्ख्या बढी रहेको हो ।

खार्पुनाथ गाउँपालिका– ५ का किसान जोर बोहराले यसवर्ष मात्र चार सय उन्नत जातका बाख्रा अछाम, बझाङ लगायतका जिल्लाबाट खरिद गरेर ल्याई किसानलाई बिक्री गरेको बताए । ती बाख्राहरू आकार हेरी १२ देखि १७ हजारमा उहाँले बिक्री गर्दै आएक छन् । किसानहरूले पनि व्यापारीबाट पाँच वटासम्म बाख्रा खरिद गरेर पालन गर्न थालेका छन् । छिटो बढ्ने, मासु बढी हुने र पाल्न पनि सजिलो भएका कारण पनि बाख्रा पाल्ने किसानहरू उन्नत जातका बाख्रा पालनमा आकर्षित भएका हुन् ।

प्रतिक्रिया