नेपालगञ्ज : थारु कल्याणकारिणी सभा बाँकेका नवनिर्वाचित पदाधिकारीहरुले पदभार ग्रहण गरेका छन् । गत साउन ३२ गते सम्पन्न ११औं अधिवेशनबाट निर्वाचित संगिता चौधरी नेतृत्वका पदाधिकारीहरुलाई निर्वाचन अधिकृत तथा अधिवक्ता राधेश्याम थारुले एक समारोहका बीच प्रमाणपत्र प्रदान गरेर पदभार ग्रहण गराएका हुन् ।
कार्यक्रममा थारु कल्याणकारिणी सभा बाँकका निवर्तमान अध्यक्ष विनोद थारुले नवनिर्वाचित सभापति संगितालाई माइनुट हस्तान्तरण गरेका थिए । साथै कार्यक्रममा निर्वाचन अधिकृत थारुले सभाको केन्द्रीय पार्षदमा सिफारिस भएका चन्द्र चौधरी, जीत बहादुर चौधरी, जागेश्वर सिंह थारु लगायतलाई प्रमाणपत्र प्रदान गरेका थिए । पदभार ग्रहण कार्यक्रममा थारु कल्याणकारिणी सभा नेपालगञ्ज नगर समितिका सचिव शम्भु प्रसाद थारु, थारु पत्रकार संघ बाँकेका सचिव जागेश्वर सिंह थारु, पूर्व अध्यक्ष विमला चौधरी लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।
पदभार ग्रहण कार्यक्रम पश्चात ’टिकापुर थरुहट थारुवान बिद्रोह दिवस’ को अवसरमा अन्तरक्रिया कार्यक्रम समेत गरिएको थियो । कायक्रममा सिङ्गो नेपालका थारु समुदायको हक अधिकार स्थापित गर्न थालिएको अन्दोलनका क्रममा बाहिरी घुसपैठबाट टिकापुर घटना घटेको भएपनि राज्य अनविज्ञ जस्तो भएर सबै दोष थारुलाई थोपरिरहेको बक्ताहरुले औंल्याएका थिए ।
टिकापुर घटना थारु समुदायको साझा मुद्दा भएको बताउँदै कार्यक्रमका सहभागीले घटनाका नाममा सजाय भोगिरहेका राजबन्दीहरुलाई विना शर्त रिहाईका लागि पहल गर्न देशभरका थारुहरु एक जुट हुनुपर्ने बताएका थिए । २०७२ भदौ ७ गते भएको टिकापुर नरसम्हारका कारण थारु समुदायले भदौ ७ लाई कालो दिनको रुपमा मनाउँदै आएका छन् ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार