दाङ : प्रायःजसो ठाउँमा नौमती बाजा पुरुषले नै बजाउने गरिन्छ तर तुलसीपुर उपमहानगरपालिका–४ मा भने नौमती बाजा बजाउनका लागि महिला समूह नै गठन गरिएको छ । महिलाहरू विवाह, व्रतबन्ध, कथा, सभा समारोहमा कोही दमाहा त कोही झ्याली, ट्याम्को, ढोलक, कर्नाल, नरसिङ्गा, मुजुरा, सहनाई बजाउँदै गरेका हुन्छन् ।
तुलसीपुर उपमहानगरपालिका–४ मा रहेको जनचेतना आमा समूह गठन गरेर व्यावसायिकरूपमै नौमती बाजा बजाउने गरिएको छ । समूहकी अध्यक्ष कौशिला खड्काले तीन वर्षअघि आमा समूहमार्फत ३० जना महिलाले देउसीभैलो खेलेको रकममा थप रकम जम्मा गरेर नौमती बाजा खरिद गरेको बताइन् । खड्काले करिब १० लाखमा नौमती बाजा सेट खरिद गरेर समूहमार्फत नौमती बाजा बजाउँदै आएकी छन् । समूहकी अध्यक्ष खड्काले विवाह, पूजा, व्रतबन्ध विभिन्न समारोह कार्यक्रममा १० देखि ३० हजारसम्म शुल्क लिएर बाजा बजाउँदै आएको बताइन् ।
अध्यक्ष खड्काले पछिल्लो समयमा आफ्नो वाद्य समूहको माग बढ्दो क्रममा रहेको बताइन् । उनले विभिन्न उत्सव, समारोह, सभामा माग बढी भएको बताइन् । अध्यक्ष खड्काले उक्त समूहले घोराहीमा सम्पन्न भएको अन्तर्राष्ट्रिय लोक महोत्सवमा समेत प्रस्तुत देखाइएको बताइन् । तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टीकाराम खड्काका अनुसार उनीहरूका लागि थप प्रोत्साहन र हौसलाका लागि पालिकाबाट नै थप नौमती बाजा खरिद गरेर हस्तान्तरण गरिएको छ । उनले अझै पनि समाजमा नौमती बाजा पुरुषले मात्रै बजाउने कला, सिप छ भन्ने भनाइ जनचेतना आमा समूहले चिर्न सफल भएको बताए । तुलसीपुर उपमहानगरपालिका संस्कृति तथा पर्यटन शाखाका प्रमुख झरेन्द्र खरेलले नौमती बाजा प्रवर्धनमा सहयोग गर्दै आएको बताए । उनले जिल्लास्तरमा आयोजना हुने विभिन्न कार्यक्रममा पालिकाबाटै समन्वय, सहयोग गरेर सम्बन्धित ठाउँसम्म पु¥याउने गरिएको बताए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार