Listen LIVE

बाँकेमा लक्ष्यभन्दा बढीले लगाए एचपीभी खोप

नेपालगञ्ज : पाठेघर मुखको क्यान्सर विरुद्धको एचपीभी खोप बाँकेमा बढी खोप लगाएका छन् ।

गत माघ २२ गतेदेखि फाल्गुन १९ गतेसम्म चलेको अभियानमा ३३ हजार ७ सय ५९ जना किशोरीले खोप लगाएको जनस्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

बाँकेको राप्ती सोनारीमा ३ हजार १ सय ४१, कोहलपुरमा ६ हजार २ सय, बैजनाथमा ३ हजार ८ सय ३३, खजुरामा ५ हजार १ सय, जानकी गाउँपालिकामा २ हजार १ सय ७०, नेपालगंजमा ८ हजार ५ सय, डुडुवामा २ हजार ३ सय १० र नरैनापुरमा २ हजार ५ सय ५ जनाले खोप लगाएको जनस्वास्थ्य कार्यालय बाँकेकी प्रमुख सुनिता पौडेलले जानकारी दिइन् ।

सरकारको लक्षित वर्ग र उपलब्धिको आधारमा लुम्बिनी प्रदेशका जिल्लाहरूमध्ये सबैभन्दा बढी बाँकेमा १०१.२ प्रतिशतले खोप लगाएको पौडेलले बताइन् ।

जनस्वास्थ्य कार्यालय बाँकेका सूचना अधिकारी नरेश बाबु श्रेष्ठले खोपको उपलब्धिका आधारमा बाँकेको स्थानीय तहहरूमध्ये खजुरामा १५६.८, नेपालगञ्जमा १०२.९, नरैनापुरमा १००.६, डुडुवामा ९९.२, राप्ती सोनारीमा ९७.८, बैजनाथमा ९६.६, जानकीमा ९०.२ र कोहलपुरमा ८३.१ प्रतिशतले खोप लगाएको बताए ।

श्रेष्ठका अनुसार नेपालमा पाठेघरको मुखको क्यान्सरविरुद्ध हालसम्मकै सबैभन्दा ठूलो अभियान हो । उनले भने, नेपालमा पाठेघरको क्यान्सर महिलामा देखिने क्यान्सरमध्ये पहिलो र समग्र क्यान्सरका प्रकारमध्ये फोक्सोपछि दोस्रो स्थानमा छ । नेपालमा औसत हरेक दिन ६ जना महिलालाई पाठेघरको मुखको क्यान्सर हुन्छ भने चार जना महिलाको पाठेघरको मुखको क्यान्सरबाट मृत्यु हुने गरेको छ ।

विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)का अनुसार नेपालमा प्रति एक लाख महिलामध्ये १४ जनाभन्दा बढीलाई पाठेघरको मुखको क्यान्सर हुन्छ । चिकित्सकका अनुसार ९ देखि १४ वर्ष भ्याक्सिन लगाउने उपयुक्त उमेर हो । किनकि यो उमेरमा बालिका यौनजन्य क्रियाकलापमा सक्रिय भएका हुँदैनन् । सानो उमेरमा लगाएको भ्याक्सिन बढी प्रभावकारी हुन्छ ।

एचपीभी भाइरससँग सम्पर्कमा आउनुअघि नै खोप पाउन सके त्यसले राम्रो परिणाम दिन्छ । किनभने खोपले संक्रमण हुनबाट बचाउँछ । तर, शरीरमा पहिला नै भाइरस बसिसकेको भए सङ्क्रमणमुक्त भने बनाउन सक्दैन ।

युनिसेफका गाजी बिन हबिबका अनुसार ९ देखि १४ वर्षको उमेर खोपका लागि सबैभन्दा उपयुक्त हो । ‘यो उमेरमा बालिकाहरू यौनिक गतिविधिमा सक्रिय नहुने भएकाले भाइरस प्रवेश गर्नुअघि नै खोप दिँदा यसको प्रभावकारिता बढी हुन्छ ।’ उनले समुदायस्तरमा एचपीभी भाइरसका बारेमा जनचेतना मूलक कार्यक्रम सञ्चालन गरेकाले बाँकेमा लक्ष्यभन्दा बढीले खोप लगाएको बताए ।

प्रतिक्रिया