काठमाण्डौ : चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल) मा लगातार दोस्रो जित निकालेको छ ।
त्रिवि मैदान कीर्तिपुरमा मङ्गलबार भएको खेलमा चितवनले पोखरा एभेन्जर्सलाई ८७ रनले हरायो । जितका लागि एक सय ६२ रनको लक्ष्य पछ्याएको पोखरा १३.२ ओभरमा सबै विकेटको क्षतिमा ७४ रनमा समेटिएको थियो ।
पोखराका लागि नारायण जोशीले ३० र मार्कस क्रिच्ट्लीले १७ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । पोखरालाई सस्तैमा समेट्न चितवनका सोहेल तान्भिर, रिजन ढकाल र लुक बेन्केसटनले तीन तीन विकेट लिए । दीपक बोहराले एक विकेट झारे । रिजन प्लेयर अफ दि म्याच बने ।
यसअघि टस हारेर पहिले ब्याटिङ गर्ने निम्तो पाएको चितवनले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा एक सय ६१ रन बनाएको थियो । चितवनका लागि रवि वोपराले ५१ रनको अर्धसतकीय इनिङ्स खेले । कप्तान कुशल मल्लले ३८ रन बनाए ।
चितवनको यो लगातार दोस्रो जितको हो । यसअघि पहिलो खेलमा चितवनले काठमाण्डौ गुर्खाजलाई पाँच विकेटले हराएको थियो । पोखराले हारबाट एनपीएलको शुरुवात गरेको छ । मङ्गलबार नै भएको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले विराटनगर किंग्सलाई ९० रनले हराएको थियो ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार