बर्दिया : कर्णाली नदीको भंगालो गेरुवा नदीस्थित कोठियाघाटमा पक्की पुल निर्माण भएपछि हिउँदमा सञ्चालन हुँदै आएको पन्टुन पुल अलपत्र परेको छ । अलपत्र परेको पन्टुन पुल सम्बन्धित निकायले वास्ता नगर्दा करिब एक दशकदेखि थन्किएर राखेकोले डब्बाहरुमा खिया लागेको छ ।
बर्षेनि रंगरोगन र मर्मत सम्भार गरिने उक्त पुलका डब्बामा खिया लागेर प्वाल परेको छ । एशियाली विकास बैंकको ऋण सहयोगमा चीनमा निर्मित पन्टुन पुल २०५६ सालमा सञ्चालनमा आएको हो । त्यसबेला करिब ७ करोडको लागतमा पुल खरिद भएको थियो । पुल सञ्चालनमा नआए कामै नलाग्ने हुन्छ । पुल निर्माण नहुँदा राजापुर टप्पुको किसानहरुले सहज रुपमा आफुले उत्पादन गरेको खाद्यान्य निर्यात गर्न राजापुर सिँचाइ आयोजनाले पन्टुन पुल हिउँदमा जडान गर्दै आएको थियो । वर्षायाम अगावै पुल पन्टुन उखालेर सुरक्षित ठाउँमा राखिने गरिन्थ्यो ।
करिब एक दशक अघि पक्की पुल निर्माण भएपछि कोठियाघाटमा राखिएको पन्टुनका डब्बा मर्मत सम्भार हुन सकेको छैन । बर्सेनि उक्त पन्टुनका डब्बा मर्मत गर्नु पर्ने हुन्छ । पन्टुनका डब्बा रंगरोगन नगर्दा खिया लागि सकेको छ । डब्बामा वर्षमा एक पटक मर्मत सम्भार गर्दा करिब दुई लाख खर्च गर्नु पर्ने प्राविधिक बताउँछन् ।
साविक जिल्ला विकास समिति, कृषक समन्वय समिति र राजापुर सिँचाइ आयोजनाले संयुक्त रुपमा सञ्चालन गरेको पन्टुन पुलको ठेक्का बर्सेनि जिविसले दिँदै आएको थियो ।
कोठियाघाटमा स्थायी पुल बनेपछि पन्टुन कता राख्ने हो भन्ने टुंगो समेत लागेको छैन । पन्टुन पुल आठ वर्ष देखि जिल्लाको कर्णाली नदीको दौलतपुर घाटमा राख्न स्थानीयले माग गरेका थिए । नदीको लम्बाईअनुसार पन्टुनको डब्बा थोरै भएकोले जडान गर्ने अवस्था नभएकोले रोकिएको थियो ।
पन्टुनका ३० वटा डब्बा भएकोले दौलतपुरघाटमा कम्तिमा ४० वटा चाहिने र नदीको धार बढी भएकोले बग्ने खतराका कारण प्राविधिकले जोखिम भएको भन्दै जडान गर्न मानेका थिएनन् । हाल दौलतपुरघाट र कैलालीको टिकापुर जोड्ने स्थायी पक्की पुल निर्माणाधीन अवस्थामा छ ।
राजापुर सिँचाइ आयोजनका प्रमुख केशव दासले पन्टुन पुल बेवारिसी जस्तो भएको बताए । पन्टुन पुलको व्यवस्थापन गर्न केन्द्रमा पत्राचार गरेपनि हुन नसकेको उनले जनाए । हिउँदमा बबई नदीमा पानीको सतह कम हुने भएकोले सञ्चालन गर्न नमिल्ने सिँचाइका प्राविधिक बताउँछन् ।(कान्तिपुरबाट)
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार