काठमाण्डौ : चितवनमा रेलमार्गको सर्भे गर्न आएको भन्दै उनीहरू सवार गाडीमा आगजनी भएको छ।
बुधबार दिउँसो १ ः ५५ बजेतिर भरतपुर महानगरपालिका ७ मा पुगेको बागमती प्रदेश ०१–०३० च ७१९० नम्बरको कारमा आगजनी भएको चितवनका प्रहरी प्रवक्ता भेषराज रिजालले थाहाखबरलाई जानकारी दिए।
उनका अनुसार गाडीमा सर्भेका लागि गएका रेल विभागका कर्मचारी सवार भएको भन्दै आगजनी गरिएको हो। उनले गाडीमा दुई जना मान्छे रहेको र उनीहरू अहिले प्रहरीकै संरक्षणमा रहेका बताए। दमकलको सहयोगमा आगो निभाइए पनि कारको अगाडिको भागबाहेक क्षति भएको छ। उनले उनीहरू कहाँबाट आएको भनेर पनि नखुलेको बताए। उनले गुगल सर्भेमा आएको भन्ने बुझेको बताए।
यसअघि पनि त्यहाँबाट रेलमार्ग बनाउने विषयमा विवाद थियो। भरतपुर महानगरले वैकल्पिक मार्ग बनाउने गरी आवश्यक पहल पनि गरिरहेको थियो।
हिजो मंगलबार टोलीले सर्भे थालेको थियो। वडानम्बर ८ मा मंगलबार सर्भे गरेर आज ७ मा आएपछि घटना भएको हो। शुरुमा कर्मचारीहरु सर्भे थाल्ने वित्तिकै स्थानीय जम्मा भएर कर्मचारीलाई नियन्त्रणमा लिएका थिए। त्यस लगत्तै घटनास्थलमा प्रहरी पुगेर कर्मचारीलाई संरक्षणमा लिएपछि कारमा आगलागी भएको हो।
’त्यहाँ कोही प्रयोग भएको हो कि भनेर घटनास्थलको अनुसन्धान थालेका छौँ,’ चितवनका प्रहरी प्रवक्ता रिजालले थाहाखबरसँग भने, ’अनुसन्धानपछि अन्य कुरा खुल्छ।’
यसअघि पनि उक्त विषममा आन्दोलन भएको थियो । स्थानीयले संघर्ष समिति नै बनाएका थिए। समिति र सरोकारवालाबीच भएको छलफलले बाटो परिवर्तन गरेर कम मानवीय बस्ती पर्ने गरी रेलमार्ग निर्माण गर्ने सहमति भएको थियो । आज एक्कासी सर्भे गर्न आएपछि स्थानीयहरू आक्रोसित भएका बताइएको छ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार