Listen LIVE

मर्मत गरेको महिना दिन नपुग्दै पुनः भत्कियो नेपालगञ्ज–कोहलपुर सडक

नेपालगञ्ज : मर्मतका नाममा वर्षेनी लाखौं खर्च गर्ने गरेको भएपनि सो रकम बालुवामा पानी हाले सरह हुने गरेको छ । रत्नराजमार्ग अन्र्तगत कोहलपुर–नेपालगञ्ज सडक खण्डको राँझादेखि कोहलपुरसम्मको सडक मर्मत गरेको महिनादिन नपुग्दै मर्मत गरेकै ठाँउमा पुनः भत्किएको पाइएको छ । 

सडक डिभिजन कार्यालय नेपालगञ्जले ठेकेदार कम्पनी मार्फत गत आर्थिक वर्षमा ३ हजार ४ सय स्क्वायर फिट सडक मर्मत गरेको भएपनि मर्मत गरेको एक महिना नपुग्दै मर्मत गरेकै स्थानमा पुनः भत्किएको हो ।  

राँझा–कोहलपुर सडक खण्डको एक दर्जन बढि स्थानमा सडक भत्किएर खाल्टो पर्नुका साथै पानी जम्ने अवस्था सृजना भएको छ । फोरलेन सडकमा तीब्र गतिमा सवारी साधन गुड्ने र सोही खाल्डोका कारण सडक दुर्घटना बढेको ट्राफिक प्रहरीको भनाई छ । 

वर्षेनि सडक मर्मत गदै आएको सडक डिभिजनले २०८० असोज १५ गते ३ महिना भित्र काम सक्ने गरि शुभ आर्य बिल्डर्स राप्तीसोनारीलाई ३ हजार ४ सय स्क्वायर मिटर मर्मतको जिम्मा दिएको सडक डिभिजन कार्यालय नेपालगञ्जका इन्जिनियर तेजेन्द्र खड्काले बताए ।  

कोटेशन मार्फत सो निर्माण कम्पनीलाई कामको जिम्मेवारी दिइएको डिभिजन कार्यालय श्रोतले जानकारी दिएको छ । ३ महिनामा मर्मत सक्ने गरि सम्झौता भएपनि असार मसान्तमा मात्रै काम सम्पन गरेको भन्दै ३५ लाख रुपैयाँ भुक्तानी दिइएको थियो । तर, काम सकेको एक महिना नपुग्दै सडक पहिले भन्दा खराब बनेको स्थानीयले बताएका छन् । 

कोहलपुर नगरपालिका–१० का नन्दलाल पौडेलले असार मसान्तमा हतार–हतार सडक खनेर मर्मत गरेको ठेकेदार कम्पनीले गुणस्तरहीन काम गरेकाले एक महिना नपुग्दै पुन भत्किएको बताउँछन् । हाल उक्त स्थान पहिले भन्दा झन् खराब बनेको उनको भनाई छ । उनले सडक डिभिजनको मिलेमतोमा कोटेशनमा काम दिने र गुणस्तरहीन काम हुने गरेको आरोप लगाए ।  

स्थानीय पौडेलले मर्मत गर्ने भन्दै खनिएको सडकको उचित मर्मत नहुदाँ दुर्घटनाको समेत जोखिम बढेको बताए । फोरलेन सडकमा तीब्र गतिमा सवारीसाधन गुड्ने र बिच सडकमा पानी जम्ने खाल्डोमा एक्कासी सवारीसाधन गुड्दा दुर्घटनाको जोखिम बढेको उनले बताए । 

यस्तै सोही खण्डमा मर्मतको जिम्मा लिएको अर्को निर्माण कम्पनी युएसआई डोल्पाले काम नगेरको भन्दै कालो सूचीमा राख्ने प्रक्रिया अगाडि बढाइएको सडक डिभिजन श्रोतले जनाएको छ ।

प्रतिक्रिया