काठमाण्डौ : आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट–एशिया प्यासिफिक छनोट प्रतियोगिताको समूह चरणको अन्तिम खेलमा आज नेपालले जापानसँग प्रतिस्पर्धा गर्दैछ । ओमानको अल अमेरातमा हुने यो खेलले समूह ‘बी’ को विजेता र उपविजेताको टुंगो लगाउनेछ ।
नेपाल र जापान दुवैले एक–एक खेलमा जीत हासिल गर्दै पहिल्यै ‘सुपर सिक्स’ चरणमा प्रवेश गरिसकेका छन् । त्यसैले आजको खेल दुवै टोलीका लागि ‘सुपर सिक्स’मा अतिरिक्त अंकसहित अगाडि बढ्ने अवसर हुनेछ ।
बिहीबार भएको समूह ‘बी’ को खेलमा जापानले कुवेतलाई पराजित गरेपछि दुवै टोली (नेपाल र जापान) को ‘सुपर सिक्स’ स्थान पक्का भएको हो । त्यससँगै लगातार हार बेहोरेको कुवेत प्रतियोगिताबाट बाहिरिएको छ ।
पहिलो खेलमा नेपालले कुवेतलाई सात विकेटको क्षतिमा १४१ रनमा रोक्दै १८ ओभर १ बलमै ८३ रनमा अलआउट गरी ५८ रनको सानदार जित निकालेको थियो ।
उता, जापानले पनि बिहीबारको खेलमा उत्कृष्ट प्रदर्शन गर्दै कुवेतले दिएको १७८ रनको लक्ष्य १९ ओभर ३ बलमै पूरा गरेको थियो । त्यसैले जापानलाई कमजोर प्रतिद्वन्द्वी ठान्नु नहुने चेतावनी नेपाली टिमले लिनुपर्ने देखिन्छ ।
नेपाल उच्च मनोबलका साथ मैदानमा उत्रिँदैछ, किनभने छनोट प्रतियोगिताअघि उसले वेस्ट इन्डिजविरुद्धको ऐतिहासिक सिरिज जित्दै र ओमान तथा कतारविरुद्धको अभ्यास खेलमा शतप्रतिशत नतिजा निकाल्दै आत्मविश्वास बढाएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार