Listen LIVE

एक वर्षमै भत्किने सडकको कारण खोज्न मुख्यमन्त्री आचार्यको निर्देशन

दाङ : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशमा निर्माण हुने सडक, पुल तथा अन्य पूर्वाधार आयोजनाको गुणस्तर सुनिश्चित गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । एक वर्ष नपुग्दै कालोपत्रे सडक भत्किने अवस्थाप्रति चिन्ता व्यक्त गर्दै उनले यसको वास्तविक कारण खोजेर सुधार गर्नुपर्ने बताएका हुन् ।

राप्ती उपत्यका (देउखुरी) मा शुक्रबार आयोजित भौतिक पूर्वाधार विकास मन्त्रालयको प्रदेश मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठक तथा आर्थिक वर्ष २०८२/८३ को वार्षिक समीक्षा कार्यक्रममा बोल्दै मुख्यमन्त्री आचार्यले योजना निर्माणदेखि कार्यान्वयनसम्मको प्रक्रियाको पुनरावलोकन गर्नुपर्ने आवश्यकता औंल्याए । 'गरेका काम गुणस्तरीय किन हुन सकिरहेका छैनन्, त्यसको कारण खोजौं । अहिले गरेका कालोपत्रे सडक एक वर्षमै किन भत्किरहेका छन् ? स्टिमेटमा कमजोरी छ कि, त्यसको समीक्षा गर्न जरुरी छ,' उनले भने, 'ढलान गर्नुपर्ने ठाउँमा कालोपत्रे गरेका छौं कि पहाडी क्षेत्रमा कालोपत्रे सडक टिकिरहेका छैनन् ।'

मुख्यमन्त्री आचार्यले तराई र पहाडका भौगोलिक अवस्थाअनुसार फरक विकास मापदण्ड अपनाउनुपर्नेमा जोड दिए । पहाडी क्षेत्रमा पक्की पुलको सट्टा आवश्यक स्थानमा बेलिब्रिज निर्माण गरेर कम खर्चमा बढी उपलब्धि हासिल गर्न सकिने भएकाले त्यसतर्फ ध्यान दिन निर्देशन दिए । उनले आयोजना कार्यान्वयनका क्रममा निर्माण व्यवसायीबाट प्रभावित नभई कानुन र मापदण्डअनुसार काम गर्न कर्मचारीलाई निर्देशन दिए । 

प्रदेश सरकारले सञ्चालन गरेका विकास आयोजनाको प्रभावकारी प्रचारप्रसारसमेत आवश्यक रहेको उल्लेख गर्दै २०७४ सालपछि प्रदेश सरकारले विकास निर्माणमा महत्वपूर्ण योगदान दिएको बताए ।

प्रतिक्रिया