जानकी (बाँके) : बाँकेको जानकी गाउँपालिका–५ मा निर्माणाधीन सुत्केरी भवन दुई वर्ष बितिसक्दा पनि अधुरो अवस्थामा छ । करिब १ करोड २५ लाख रुपैयाँ लागतमा शुरु गरिएको भवन ठेकेदारको लापरवाहीका कारण अलपत्र परेको हो ।
आर्थिक वर्ष २०८०–०८१ मा विशेष योजना अन्तर्गत सम्झौता भई शुरु भएको यो भवन २०८१ भित्रै सम्पन्न हुनुपर्ने थियो । तर निर्माण व्यवसायीले सम्झौताअनुसार काम नगर्दा हालसम्म फाउण्डेशन मात्र बनेको छ । ठेकेदार सम्पर्कविहीन भएपछि योजना अघि बढ्न सकेको छैन ।
वडा नम्बर ५ का अध्यक्ष टिकानाथ यादवले समयमै काम भएको भए महिलाले आफ्नै वडामा सुरक्षित सुत्केरी सेवा पाउने बताए । पटक–पटक ताकेता गर्दा पनि ठेकेदार जिम्मेवार नबन्दा स्थानीयवासी निराश बनेका छन् ।
भवन सञ्चालनमा नआउँदा स्थानीय महिलाहरू सुत्केरी व्यथा लागेपछि सदरमुकाम जान बाध्य छन् । गरिब तथा यातायात सुविधा नपुगेका महिलाका लागि यो यात्रा जोखिमपूर्ण बनेको छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत परसुराम उपाध्यायले ढिलाइलाई गम्भीर रूपमा लिइएको बताए । ठेकेदारलाई १५ दिनभित्र लिखित जवाफ पेश गर्न पत्रिकामार्फत सूचना जारी गरिएको र सम्झौताअनुसार काम नगरे कानुनी प्रक्रिया अघि बढाइने उनले जानकारी दिए ।
गाउँपालिका अध्यक्ष छब्बन खाँले मातृस्वास्थ्य जस्तो संवेदनशील विषयमा ढिलाई स्वीकार्य नहुने भन्दै सुत्केरी भवन छिटो सम्पन्न गर्न कडा निर्देशन दिइएको बताए ।
स्थानीय महिला सिता यादवले सुत्केरी हुने बेला यातायात नपाएर समस्या भोग्नुपरेको गुनासो गरिन् । उनले वडामै सुत्केरी भवन बनेको भए यस्तो दुःख सहनु नपर्ने बताइन् ।
अधुरो संरचना र थन्किएका सामग्रीसहित सुत्केरी भवन अहिले जानकी–५ मा विकास योजनाको असफलताको उदाहरण बनेको छ । स्थानीयले प्रश्न गर्छन् —यो भवन कहिले सञ्चालनमा आउँछ ?
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार