Listen LIVE

बर्दियाका सहकारीलाई धान नबिक्ने चिन्ता

बर्दिया : सरकारले तोकेको समर्थन मूल्यमा आफ्ना शेयर सदस्य किसानको धान खरिद गरिरहेका सहकारी संस्थालाई धान नबिक्ने चिन्ताले सताउन थालेको छ । 

धान खरिद गरिरहेको सहकारीले धान बिक्रीका लागि पहल गरिदिन सरकारसमक्ष अनुरोध गरेका छन् । यस वर्ष धान व्यापारीहरूले समर्थन मूल्यभन्दा न्यून मूल्यमा धान खरिद गरेपछि सहकारी र खाद्य संस्थानलाई धान खरिदका लागि दबाव बढेको छ । 

मधुवन, ठाकुरबाबा, बारबर्दिया र बाँसगढी नगरपालिकाका सहकारीले आफ्ना शेयर सदस्य किसानको धान खरिद गरेका छन् । मधुवन नगरपालिका भित्रका ४ वटा सहकारीले १७ सय क्विन्टल, ठाकुरबाबाको एक सहकारीले चार हजार क्विन्टल, बारबर्दियाको एक सहकारीले दुई हजार क्विन्टल र बाँसगढीका तीन वटा सहकारीले आठ हजार क्विन्टल धान खरिद गरिसकेका छन् । 

मधुवनको एक, बारबर्दियाको एक र बाँसगढीको तीन वटा सहकारीले अझै पनि धान खरिद गरिरहेको बताएका छन् । बाँकी सहकारीले धानको बिक्री र व्यवस्थापन गर्न समस्या हुने देखेर खरिद रोकेको जनाएका छन् । 

बर्दिया जिल्लामा सहकारीहरूले ३१ हजार क्विन्टलभन्दा बढी धान खरिद गरिसकेका छन् । स्थानीय व्यापारी र मिलवालाले पनि समर्थन मूल्यमा धान नकिनिदिने भएपछि सहकारीको खरिद गरेको धान समेत अलपत्र पर्ने अवस्था आएको छ ।

गत बर्षको धान समेत स्टक रहेको र यस बर्ष खरिद गरिएको धान समेत बिक्री गर्न समस्या हुने मधुवन नगरपालिका –८ मा रहेको सानोश्री सानाकिसान कृषि सहकारी संस्थाका अध्यक्ष दिलाराम जैसीले बताए । 

उनले गत बर्षको खरिद गरेको धान सस्तो मूल्यमा बेच्न खोज्दा समेत नबिकेको बताउँदै यस बर्ष धान बिक्री हुने ग्यारेन्टी नभएको बताए । सहकारीमार्फत खरिद गरेको किसानको धान नगरपालिका र नेपाल सरकारले बिक्री गर्न समन्वय गर्नुपर्ने बताए । 

ताराताल सानाकिसान कृषिसहकारी संस्थाका प्रबन्धक डम्बर केसीले गत बर्ष किसानबाट खरिद गरेको छसय क्विन्टलभन्दा बढी धान बिक्री गर्न नसकिएको बताए । उनका अनुसार यस बर्ष करिब सात हजार क्विन्टल धान खरिद गरिएको छ, त्यो कसरी बेच्ने हो नगरपालिकाले समन्वय गरिदिनुपर्छ ।  

ठाकुरबाबा नगरपालिका वडा १ को शिंहबाहिनि शिवशक्ती कृषक बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष युवराज शर्माले धान बेच्न समस्या हुने देखिएपछि धेरै धान खरिद नगरेको बताए । उनले भने –“बजारको ग्यारेन्टी भएको भए ठाकुरबाबाको सबै धान किन्ने योजना थियो, तर सकिएन ।”

मधुवन नगरपालिकाका नगरप्रमुख तेजबहादुर भाटले धान बिक्रीका लागि व्यापारी, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडसँग अनुरोध गरेको उनले बताए । सरकारसँग कम्पनीको कोटा बढाउन माग गरेको बताउँदै उनले भने, “समर्थन मूल्य तोक्ने मात्र होइन सरकारले खरिद गरिएको धानको व्यवस्थापन गर्न पनि पहल गर्नुपर्छ ।”

प्रतिक्रिया