काठमाण्डौ : इन्डोनेसियामा हुने फिफा टायर पहिलो त्रिदेशीय अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगितामा सहभागिता जनाउन नेपाली राष्ट्रिय महिला फुटबल टोली आइतबार इन्डोनेसिया प्रस्थान गरेको छ ।
नेपाली टोलीलाई आइतबार नै अखिल नेपाल फुटबल सङ्घ (एन्फा) महासचिव किरण राई, सिईओ इन्द्रमान तुलाधरलगायतले बिदाइ गरे । नेपालले पहिलो खेल नोभेम्बर २६ तारिख घरेलु टोली इन्डोनेसिया र डिसेम्बर २ तारिख चाइनिज ताईपेइसँग प्रतिस्पर्धा गर्नेछ ।
टोलीका प्रशिक्षक न्यौपानेले एञ्जिला सुब्बाको कप्तानीमा यसअघि नै २२ सदस्यीय महिला टोलीको घोषणा गरिसकेका छन् । चोटका कारण प्रभावशाली स्ट्राइकर सावित्रा भण्डारी (साम्बा) र सविता रानामगर भ्रमण टोलीमा छैनन् ।
प्रशिक्षक न्यौपानले साम्बाबिना खेल्दा नेपाललाई लियोनम मेस्सीबिनाको अर्जेन्टिना र क्रिस्टियानो रोनाल्डोबिनाको पोर्चुगल जस्तो हुने बताए ।
‘‘साम्बा टोलीको महत्वपूर्ण खेलाडी हुन् । उनको स्थानमा खेल्ने खेलाडीलाई प्रमाणित गने अवसर छ । खास साम्बाबिना खेल्दा गाह्रो नै हुन्छ । इन्डोनेसिया र चाइनिज ताईपेइ बलिया टोली हुन् । हामीले एक साताको तयारी गरेका छौँ । सकभर राम्रो खेल्ने प्रयास गर्नेछौँ,’’ न्यौपानेले भने ।
महासचिव राईले महिला टोलीलाई एन्फाले राम्रो एक्पोजर दिएकोले नजिता राम्रो आउने विश्वास गरे । उनले नेपाली महिला टोली आगामी साफ च्याम्पियन बन्ने लक्ष्यका तयारी गरेर अगाडि बढिरकेको पनि बताए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार