नेपालगञ्ज : बाँकेका सामुदायिक वनले विभिन्न क्षेत्रका बञ्जर र बगर ठाउँलाई हरियालीमा परिणत गर्न सक्रिय भएका छन् । सामुदायिक वनले उत्पादक र मूल्यवान बिरुवाको वृक्षरोपणमा अग्रसरता देखाउँदै वनमा झाडी तथा मूल्यवान नभएका, वञ्जर र वगर क्षेत्रमा मूल्यंवान बिरुवाहरू वृक्षरोपण गरी संरक्षण गर्दै आएका छन् ।
बाँकेको राप्तीसोनारी गाउँपालिका वडा ६ स्थित श्री राप्ती पीडित तथा गुलरी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष मदनकुमार बुढाले पछिल्ला वर्षमा सामुदायिक वनमा मूल्यवान बिरुवाहरूको वृक्षरोपण बढ्दै गएको बताए । उनले वन क्षेत्र उत्पादनमूलक हुनुपर्ने जनाउँदै जङ्गल मात्रै भएर नहुने हुँदा अब जङ्गललाई गुणस्तरीय र प्रतिफलमूलक बनाउनु पर्ने कुरामा जोड दिए ।
राप्तीसोनारी वडा ६ मा मात्रै ५ वटा सामुदायिक वन रहेको जानकारी गराउँदै श्री राप्ती पीडित तथा गुलरी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष बुढाले सबै सामुदायिक वनले अनुत्पादक र मूल्यवान नभएका वन क्षेत्रमा क्रमशः मूल्यवान बिरुवाहरू रोप्दै आएको बताए ।
श्री राप्ती पीडित तथा गुलरी सामुदायिक वन उपभोक्ता समूहले वन क्षेत्रमा पाँच वटा ब्लक बनाएर वृक्षरोपण गरिरहेको छ । जसलेगर्दा पहिले बञ्जर र बगर रहेको वन क्षेत्र हरियाली भएको स्थानीयवासी बताउँछन् । वडा नम्बर ६ का स्थानीय रामु थारुले पहिले नाङ्गो देखिने वन क्षेत्र अहिले घना हरियाली क्षेत्रमा परिणत भएको बताए ।
श्री राप्ती पीडित तथा गुलरी सामुदायिक वन उपभोक्ता समूहले मात्रै अढाई लाख बिरुवा वन क्षेत्रमा हुर्काइसकेको छ । पाँच वटा ब्लक बनाएर क्रमशः विभिन्न प्रजातिका बिरुवाहरू वृक्षरोपण गर्ने, संरक्षण गर्ने काम भइरहेको समूहका अध्यक्ष बुढाको भनाइ छ ।
वृक्षरोपणपछि बिरुवा हुर्काउने जिम्मेवारीका लागि प्रत्येक ब्लकमा उपसमिति बनाएर संरक्षणको जिम्मा दिइएको जनाउँदै अध्यक्ष बुढाले यसले राम्रो परिणाम देखाइसकेको बताए ।
अध्यक्ष बुढा आफू आउनु अघिकै कार्यसमितिले वनमा वृक्षरोपणको योजना कार्यान्वयनमा ल्याएको बताउँदै त्यसलाई आफ्नो कार्यसमितिले निरन्तरता दिएको बताउँछन् । ‘प्रति हेक्टर ८ हजार बिरुवा लगाएर हुर्काउनुपर्ने हो, तर लगाएका सबै विरुवा हुर्कदैनन्’, उनले भने, ‘अहिले हाम्रो समूहले ८० हेक्टर बढी वन क्षेत्रमा गरेको वृक्षरोपणबाट अढाई लाख बिरुवा हुर्किइसकेका छन् ।’
सामुदायिक वनमा वृक्षरोपणका लागि बिरुवा, गोडमेल तथा जनावरबाट जोगाउन तारजालीलगायत प्राविधिक सहयोग डिभिजन वन कार्यालय बाँकेले गर्दै आएको छ । सुरुमा चरिचरन क्षेत्रमा वृक्षरोपण गर्नेभन्दा विरोध भए पनि चरिचरनका लागि वनकै अर्को ठाउँ दिएर संरक्षण गर्दै वृक्षरोपण गरेको अध्यक्ष बुढाले बताए ।
पछिल्लो पटक वृक्षरोपण गरिएको श्री राप्ती पीडित तथा गुलरी सामुदायिक वन उपभोक्ता समूहको ब्लक नम्बर ५ को संरक्षणको जिम्मेवारी लिएका उपसमितिका अध्यक्ष घगिराम खत्रीले अहिलेको वृक्षारोपणले भविष्यमा जङ्गल उत्पादक र प्रतिफलमूलक हुने विश्वास व्यक्त गरे । उनले आफ्नो समूहको वन क्षेत्रमा प्रमुख रूपमा खयर र अर्जुन जातको बिरुवा लगाइएको जनाउँदै रिठ्ठा, मौआ, अमला, कटहर पनि रोपेको बताए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार