Listen LIVE

बाजुरामा किवी उत्पादन बढ्यो, बजारीकरणको समस्या

बाजुरा : बाजुराको गौमुल गाउँपालिकाका किसानहरूले पछिल्लो बर्ष किवी खेतीलाई नयाँ अवसरका रूपमा अगाडि सारेका छन्।

गाउँपालिकाको वडा नम्बर –१ अम्लिसका किसान जयलाल रोकायाले यस वर्ष किवी उत्पादनमा उल्लेखनीय सफलता हासिल गरेका छन्। रोकायाले आफ्नै बगैँचामा लगाएका किवीका केही बोटहरूबाट प्रती बोट ५० देखि ५५ किलोसम्म किवी उत्पादन भएको हो। २०७९ सालदेखि करिब २४ सय हेक्टर क्षेत्रफलमा किवी खेती विस्तार हुँदै आएको छ। सुरुका वर्षहरूमा केही बोटहरूमा ५–६ किलो मात्र फल लागे पनि अहिले उत्पादन द्रुत रूपमा बढिरहेको कृषक रोकायाको भनाइ । 

कृषि ज्ञान केन्द्र बाजुराको ५० प्रतिशत अनुदान र ५० प्रतिशत आफ्नै लगानीमा रोकायाले १ सय ९० वटा किवीका बिरुवा रोपेका थिए । जसमध्ये १ सय ८० वटा बोट जीवित रहँदा चौथो वर्षसम्म आइपुग्दा उत्पादन एक क्विन्टल ७० किलोसम्म पुगेको उनले बताए।

यस वर्ष मात्र १४ वटा बोट बाट १० क्विन्टलभन्दा बढी किवी उत्पादन भएको रोकायाको भनाइ छ। लगातार पाँच वर्षको मेहनत, उचित मलजल, सिँचाइ र गोडमेलको परिणामस्वरूप राम्रो उत्पादन सम्भव भएको हो। उत्पादन बढे पनि बजारसम्म पुगाउने र बिक्री वितरण गर्ने कार्यमा भने समस्या थपिएको किसान रोकायाको गुनासो छ।

अम्लिस बस्ती सडक सञ्जालसँग नजोडिएकाले उत्पादित किवी खच्चड वा भरियामार्फत गाउँपालिकाको केन्द्र घट्मुनासम्म बोक्नुपर्ने अवस्था छ। ढुवानी खर्च महँगो परेपछि स्थानीय किसानहरू समस्यामा परिरहेका छन्।

प्रतिक्रिया