Listen LIVE

रेसुङगा विमानस्थलबाट उडान पुनः शुरु

तम्घास : झण्डै दुई महिनापछि रेसुङगा विमानस्थलबाट पुनः उडान सुचारु भएको छ । गत असार १४ गतेदेखि खराब मौसमका कारण रेसुङगा विमानस्थलबाट उडान हुन नसकेको नेपाल एयरलाइन्स रेसुङगा विमानस्थलका स्टेसन प्रमुख सुमन थापाले जानकारी दिए । 

मौसम सफा रहेमा प्रत्येक हप्ताको शुक्रबार नियमित उडान हुने थापाले बताए । भदौ ७ गते शुक्रबार काठमाण्डौबाट –१२ जना यात्रु लिएर उडान भरेको विमानले रेसुङ्गाबाट खाली गएको थापाले बताए । लामो समयसम्म नियमित उडान नभएका कारण र यात्रुहरू पनि विमान आउने नआउनेमा अन्योल भएका कारण यहाँबाट यात्रु नभएको उनको भनाइ छ । 

पहिले हप्ताको एक दिन शुक्रबार मात्र उडान भर्दै आएको जहाजले यात्रुको अत्यधिक चाप बढेपछि साप्ताहिक तीन उडानको अनुमति पाएको थियो । वर्षायाम सुरु भएपछि पछिल्लो समय हप्ताको एक दिन शुक्रबार मात्र उडान गर्नेगरी कार्यतालिका रहेको थापाले बताए । 

काठमाण्डौबाट बिहान ६ बजेर ३० मिनेट र रेसुङ्गाबाट काठमाडौँका लागि बिहान ७ बजेर ४५ मिनेटमा उडान हुने कार्य तालिका रहेको उनले बताए । हवाई यात्रामा गुल्मी जोडिएसँगै फ्रान्स र स्पेनबाट पनि पर्यटकहरु घुम्नका लागि गुल्मी आएको रेसुङगा नगरपालिका गुल्मीले जनाएको छ ।

हाल गुल्मीबाट काठमाण्डौका लागि सात हजार तीनसय र काठमाण्डौबाट गुल्मीका लागि सात हजार पाँचसय रुपैयाँ भाडा कायम गरेको स्टेशन प्रमुख थापाले बताए । जिल्ला सदरमुकाम तम्घासबाट करिब ५ किलोमिटर कच्चीबाटो पछि विमानस्थल पुग्न सकिन्छ । विमानस्थलबाट गत वर्षको वैशाख २९ गतेबाट व्यावसायिक उडान शुरु गरिएको थियो ।

प्रतिक्रिया