Listen LIVE

१३ किलो अफिमसहित तीन जना पक्राउ

दाङ : दाङको तुलसीपुरबाट १३ किलो अफिमसहित तीन जना पक्राउ परेका छन् ।

रूकुम पश्चिमको आठबिसकोट नगरपालिका वडा नं–३ का ४० वर्षीय टेकबहादुर बोहरा, आठबिसकोट वडा नं–२ की ४५ वर्षीया मनकुमारी बोहरा र मुसिकोट नगरपालिका वडा नं–६ का ३० वर्षीय मोहन पुन पक्राउ परेका हुन् ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी ठाकुर पोख्रेलका अनुसार उनीहरू अघिल्लो दिन बिहान मात्रै दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं–८ शुभबिहानी टोल आएका थिए । त्यहाँ डेरा बस्दै आएका एक आफन्तकहाँ उनीहरू पाहुना लाग्न आएका थिए ।

प्रहरीले गोप्य सुराकका आधारमा उनीहरूलाई नियन्त्रणमा लिएको हो । मंगलबार बेलुका साढे ६ बजेतिर सादा पोशाकमा सात जना प्रहरी खटिएका थिए ।

टोलीले खानतलासी गर्ने क्रममा तीन जनाबाट १३ किलो अफिम फेला पारेको हो । पक्राउ परेकाहरूमाथि थप अनुसन्धान हुन बाँकी रहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया