Listen LIVE

वन्यजन्तुबाट प्रभावित नागरिकको दुर्घटना बीमा

नेपालगञ्ज : बर्दियाको मधुवन नगरपालिकाका–३ का वन्यजन्तुबाट प्रभावित नागरिकको सामूहिक बीमा गरिएको छ । डिभिजन वन कार्यालय बर्दियाको सहकार्यमा लुम्बिनी प्रदेश वन तथा वातावरण मन्त्रालयले राष्ट्रिय बीमा कम्पनी लिमिटेड शाखा कार्यालय नेपालगञ्ज बाँकेमार्फत उनीहरुको बीमा गरेको हो ।

मधुवन– १, २ र ३ नं वडामा बसोबास गर्ने एक हजार ३११ परिवारका तीन हजार ३९० महिला र तीन हजार ३६६ पुरुषको प्रतिव्यक्ति दुई लाख रूपैयाँका दरले सामूहिक दुर्घटना बीमा गरिएको डिभिजन वन कार्यालयका प्रमुख प्रवीण विडारीले जानकारी दिए । कुल ३५ करोड १२ लाख रूपैयाँ बीमांक जम्मा गरिएको उनले बताए ।

’अन्य कुरामा पनि बीमा कम्पनीसँग सहकार्य जारी भएकाले बीमाको थप बीमाका कार्यक्रम बढाउँदै लैजान्छौँ । बीमा अवधि २०८१ असार ३० गतेदेखि २०८२ असार २० गतेसम्म एक वर्ष कायम रहने छ,’ उनले भने । दुर्घटना भएको ३५ दिनभित्र बिमकलाई जानकारी दिनुपर्ने व्यवस्था गरिएको डिभिजन वन कार्यालयका वन अधिकृत टंक गुरुङ बताउँछन् ।

दाबी जालसाजीपूर्ण भए, दाबीको सिलसिलामा विमालेख धारक वा विमित वा निजको तर्फबाट कार्य गर्ने व्यक्तिले झुटा बयान दिइ अनुचित लाभ उठाउन खोजे, बीमा ऐन २०४९ बमोजिम बीमा समितिले बीमकको पक्षमा फैसला गरेको ३५ दिनभित्र उच्च अदालतमा उजुरी परे बीमा भुक्तानी नहुने प्रावधान छ ।

वन्यजन्तुबाट दुर्घटना भइ मृत्यु भएको अवस्थामा बीमा रकम दुई लाख रूपैयाँ उपलब्ध गराइने अधिकृत गुरुङले बताए । लुम्बिनी प्रदेश सरकारले वन्यजन्तु प्रभावित क्षेत्रका स्थानीयको सामूहिक बीमा गरेपछि पीडितले समयमै राहत रकम पाउन सहयोग पुग्ने खाता सामुदायिक वन समन्वय समितिका अध्यक्ष हरि गुरुङ बताउँछन् ।

प्रतिक्रिया