Listen LIVE

आर्थिक संकटमा मोतीलाल बहुमुखी क्याम्पस

पश्चिम नवलपरासी : पश्चिम नवलपरासीको सुनवल नगरपालिका–१३ स्थित मोतीलाल बहुमुखी क्याम्पस यतिबेला गम्भीर आर्थिक संकटसँग जुधिरहेको छ। छोरी–बुहारी को शैक्षिक गन्तव्यका रूपमा चिनिएको यो क्याम्पसले गुणस्तरीय शिक्षा प्रदान गरेता पनि व्यवस्थापकीय खर्च जुटाउन हम्मे–हम्मे परेको छ।

क्याम्पस हाल ९० लाख रुपैयाँ बराबरको आर्थिक घाटामा रहेको पाइएको छ । २०६५ सालमा महायज्ञ सञ्चालन गरी संकलित रकमबाट भौतिक पूर्वाधार निर्माण गरेर सञ्चालनमा आएको यस क्याम्पसमा हाल स्नातक तहसम्मको अध्यापन हुँदै आएको छ।

विगत दुई वर्षदेखि लुम्बिनी प्रदेशकै स्नातक तहको नतिजामा उत्कृष्ट स्थान हासिल गर्न सफल क्याम्पसको तथ्याङ्क अनुसार यहाँ अध्ययनरत कूल २५३ जना विद्यार्थी मध्ये ८० प्रतिशत हिस्सा महिला र छोरी–बुहारीहरुको रहेको छ भने बाँकी २० प्रतिशत मात्र पुरुष विद्यार्थी छन्।

क्याम्पस सञ्चालक समितिका अध्यक्ष लेखनाथ खरेलले शैक्षिक गुणस्तरमा कुनै सम्झौता नभए पनि आर्थिक अभावका कारण क्याम्पस सञ्चालनमा निकै ठूलो चुनौती थपिएको बताए। प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल संस्थालाई सरकारी निकाय वा दाताहरूबाट ठोस सहयोग प्राप्त नहुँदा दैनिक प्रशासनिक र प्राध्यापकहरूको पारिश्रमिक व्यवस्थापनमा समस्या देखिएको हो।

विशेष गरी घरको जिम्मेवारी सम्हाल्दै उच्च शिक्षा हासिल गर्न चाहने छोरी र बुहारीहरूका लागि यो क्याम्पस वरदान सावित भएको छ। तर, विद्यार्थीको चाप र शैक्षिक सफलताका बीच क्याम्पसको आर्थिक जग भने हल्लिएको छ।

क्याम्पसमा हाल आंशिक र पूर्णकालीन गरी १४ जना प्राध्यापक कार्यरत छन्। क्याम्पस प्रमुख भागीरथ अधिकारीका अनुसार क्याम्पसको आन्तरिक स्रोतले खर्च धान्न नसक्दा हाल कार्यरत प्राध्यापकहरूलाई लामो समयदेखि पारिश्रमिक वितरण गर्न सकिएको छैन।

उत्कृष्ट नतिजा दिने र दुर्गमका छोरी–बुहारीलाई शिक्षित बनाउने यस्तो संस्थाको संरक्षणका लागि स्थानीय सरकार र सरोकारवाला निकायले समयमै ध्यान दिनु जरुरी देखिन्छ।

प्रतिक्रिया