Listen LIVE

बाढीमा दाउरा खोज्न गएका किशोर १८ दिनदेखि बेपत्ता

नेपालगञ्ज : बाँकेको डुडुवा २ रामनगरका एक किशोर गत १८ दिनदेखि बेपत्ता छन् । १८ दिनअघि असार २३ गते राप्ती नदीमा बाढी आएका बेला सतिघाटमा छिमेकीसँग दाउरा लिन गएका १५ वर्षीय किशोर रामु केवट घर नफर्किएरको उनका बुवा राम जियावन केवटले बताए ।

किशोरका पिता केवटका अनुसार छिमेकी शिव मालीको ट्रयाक्टरमा दाउरा सङ्कलन गर्न गएका किशोर सतिघाटबाट घर नफर्किएका हुन् । जिल्ला प्रहरी कार्यालय बाँकेमा बेपत्ता किशोरको खोजीका लागि परिवारले दिएको निवेदनको आधारमा सम्भावित ठाउँमा खोजी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता, डिएसपी नारायण डाँगीले धेरै दिनदेखि खोजी कार्य भइरहे पनि किशोर फेला नपरेका कारण परिवारले गरेको केही आशङ्कातर्फ पनि अनुसन्धान अघि बढाइएको बताए । 

१८ दिनअघि राति ८ बजे दाउरा लिन छिमेकी मालीको ट्रयाक्टरमा बसेर राप्ती सतीघाट गएका ती किशोर राति १२ बजे ट्रयाक्टर फर्किदा सँगै नदेखिएपछि रातभरि खोजी कार्यमा परिवारसहित गाउँलेहरू जुटेका थिए । 

त्यसबेलादेखि अहिलेसम्म निरन्तर खोजी कार्य भइरहेको छ । तर रामुको अवस्था बारे कुनै पनि जानकारी प्राप्त नभएको उनका पिता जियावन केवटले बताए । उनका दुईमध्ये ठुलो छोरा रामु हराएपछि केवट परिवार दुई सातादेखि शोकमा छ ।

प्रतिक्रिया